पत्रपत्रिकामा प्रदेश : सरकारप्रति सत्तारुढकै असन्तुष्टि

विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकलौटी सरकार चलाउन खोजेको आरोप लगाउँदै प्रदेशसभा सदस्य र नेताहरु छुट्टै भेला डाकेर उनको विकल्पबारे छलफल चलाउँदै गरेको समाचार कान्तिपुर दैनिकमा छ ।

असन्तुष्ट बनेका सांसदहरुले मोर्चाबन्दी सुरु गरेका हुन् ।

सरकार गठन भएको दुई वर्ष वित्न लाग्दासमेत पार्टीभित्रै आलोचना बढेपछि उनले गतसाता चारजना राज्यमन्त्री थपेका थिए ।

तर पार्टीको सुझाव विपरीत र संसदीय दललाई समेत वेबास्ता गर्दै मन्त्रीहरु थप गरेको उनीहरुको गुनासो छ ।

मुख्यमन्त्रीको कामबाट असन्तुष्ट बनेका तत्कालीन माओवादीबाट निर्र्वाचित प्रदेशसभा सदस्यहरुले विग होटलमा भेला गरेका छन् ।

यसअघिको सहमति कार्यान्वयन नगरी एकलौटी अघि बढे मुख्यमन्त्रीको विकल्प खोजिने टुंगोमा पुगेका छन् ।

कोरोना भाइरसबारे प्रदेश सरकार बेखबर

‘कोरोना भाइरसबारे प्रदेश सरकार बेखबर’ शीर्षकमा उद्घोष दैनिकमा समाचार छ ।

प्राणधातक नोवल कोरोना भाइरसको आतंकले संसार हल्लाइरहेको बेला प्रदेश १ सरकार भने बेखबर रहेको छ ।

यो भइरसबाट बच्न प्रदेश १ सरकारले पूर्वतयारी केही गरेको छैन् ।

संघीय सरकारसँग सुझाव माग्दा केही गर्नु पर्दैन् भन्ने जवाफ आएपछि चुप लागेर बसेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले बताए ।

तर आम जनताले भने कोरोना भाइरसका विषयमा सचेत गराउन सरकारले चासो नदिएको बताएका छन् ।

नागरिक दैनिकमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको उपकुलपति पदमा प्रतिष्ठानकै चिकित्सक राख्ने कि बाहिरबाट ल्याउने भन्ने बहस सुरु भएको समाचार छ ।

प्रतिष्ठानका कर्मचारी, प्राध्यापक र चिकित्सक दुई धु्रवमा बाडिँएका छन् ।

‘तीव्र गतिले लग्यो ५ जनाको ज्यान’ शीर्षकमा ब्लाष्ट टाइम्समा मुख्य समाचार छ ।

सुनसरीको रामधुनी नगरपालिका २ मा दुईवटा बस ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र पोखराबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किएको थियो ।

ब्लाष्टमै कमिसन मागेको आरोपमा विराटनगर १२ का भोला कामत पक्राउ परेको खबर छ ।

बखरी आधारभूत विद्यालयको भवन निर्माण भइरहेको बेला कमिसन मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

Loading...