गौतमबुद्ध रंगशाला निर्माणका लागि गल्छी गाउँपालिकाको १०० टिपर बालुवा सहयोग

चितवन,१८ माघ । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग गरेको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।

गल्छी गाउँपालिका– ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य ३० हजार हाराहारी पर्ने बताए । उनले रंगशालालाई ३० लाख मुल्य बराबरको बालुवा सहयोग गरेको बताए ।

गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उनले बताए ।

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन छ ।

रङ्गशालामा ५० करोड सङ्कलन गर्ने लक्ष्यसहित आइतबारबाट धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ ।

दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ । रासस

Loading...