झोडा काण्डले बिद्रोही कवि बनेका अनिल पौडेल

भत्केको चुल्हो काँचो भात
गुजुजु उम्लियो भात
डेरा सरेको पहिलो रात

पोखराको हत्या काण्ड, डलर विमान काण्ड, भक्तपुरको मुर्तिकाण्ड । छिन्ताङ गोली काण्ड, असकल काण्ड झोडा , पिसकर काण्ड झनै । सबैमा पञ्चायती व्यवस्थाका विकास छन् झनै ।

हरेराम हरेराम भन्नपनि डर भो
देवी देउता पुज्ने मन्दिर गोली हान्ने घर भो
आठ वर्षे बालकलाई थुन्ने पापी राज
असी वर्षे बुढा पनि जेलभित्रै छन आज ।

उच्च शिक्षा पढ्न भान्से बाहुन

भान्छे बाहुन भएर क्याम्पस पढ्न सुनसरीको धरानमा गएको ठिटोले पढ्न नपाएपछि बिद्रोह ग¥यो । पढ्ने चाहना पूरा गर्न आर्थिक अवस्था कमेजार भएपनि जसोतसो धानाैँला भनेर आफैं सस्तो डेरामा बसेर पढ्न थाल्यो । तर सस्तो डेरा पटक–पटक सरिरहनुपर्ने झन्झटबाटचाहिँ मुक्त हुन सकेन ।

२०३२ सालतिर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै गर्दा उसले डेरा सर्दा पाएको सास्ती कवितामा लोकभाकामा उतार्यो । साहित्यक हवाई पत्रिकामा छापिएपछि कविता चर्चित भयो । ध

ेरैका मुखमा झुण्डियो त्यो यथार्थ बोल्ने कविता । त्यो बेलाको ठिटो अहिले ५३ वर्षे बुढ्यौली उमेरमा पुगिसकेको छ । तर अझै पनि धरान जाँदा उसलाई चिन्नेहरु र त्यो बेलाका क्याम्पसका गार्डहरु व्यथा ठयाक्कै लेखेको भनेर कविता सुनाएर सम्झना गर्छन् – “तपाईंले त हाम्रो व्यथा ठयाक्कै लेखिदिनुभएको नि हौ ”

अनिल पौडेल, मोरङ सुन्दरहरैचा बाँसबारीका स्थायी बासिन्दा हुन् । पहाड संखुवासभाको पाथिभरा गाविसको हेदाङना हो ।

दुई वर्षकै उमेरमा बाबु गुमाएर टुहुरो भएका उनले बाल्यकाल पहाडमा गोठालो भएर बिताए । नौ वर्षको उमेरमा मोरङ सुन्दरपुरको भीमचौरी झोडा झरे, आमा र बहिनीसँगै । बाबुविनाका टुहुरा उनी मामाघरमा गोठालो बने । त्यहीँ उनले पढ्न पनि सुरु गरे ।

नजिकै रहेको ज्योति निमाविबाट पढाई सुरु गरेका पौडेलले सुन्दरपुरको साजिलाल माविबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षा पढ्न उनी भान्से बाहुन भएर धरान पुगेका थिए । तर पढाउँछु भनेर लानेले धोका दिएपछि उनी आफैं सस्तो डेरामा बसेर पढ्न थाले ।

होचो कद र कालो वर्णका साहित्यकार अनिल पौडेलले निरन्तर संघर्षबाट आÇनो छवि भने निक्कै अग्लो बनाइसकेका छन् । उनी चिनिएका मिजासिला कविमध्ये गनिन्छन् । धनकुटाकी झमक कुमारीलाई डकुमेन्ट्री बनाएर चिनाउने पनि अनिल नै हुन् ।

एमाले नेता स्वर्गीय मदन भण्डारीको मृत्यु प्रकरण दासढुड्डाबारे पहिलो वृत्तचित्र पनि उनैले बनाएका हुन् । योबाहेक आजको सवाई, हातहरु, फुटेर फेरि मनहरु लगायत आधा दर्जन कविता संग्रह प्रकाशित छन् उनका । छन्दमा कविता एल्बम र कविता क्यालेण्डरको चलन चलाउन पनि उनको योगदान छ ।

सँधै केही न केही नयाँ सृजना गर्न रुचाउने र पत्रकारिताको समेत अनुभव संगालेका उनले ओझेलमा परेको कम्युनिष्ट आन्दोलनको एउटा इतिहासलाई वृत्तचित्र ‘एउटा घरको कथा’ निर्माण गरेर सार्वजनिक गरिदिएका छन् । उक्त वृत्तचित्र सार्वजनकि भएपछि कवि पौडेलले सबैतिरबाट धन्यवाद मात्र पाइरहेका छन् ।

समष्टि साहित्यक पत्रिकाको सम्पादक

कृषि विकास बैंक केन्द्रिय कार्यालयले प्रकाशन गर्ने साहित्यक पत्रिका समष्टिको सम्पादक भएर लामो समय काम गरे अनिलले । धरानबाट नेपालीमा स्नातक गरेपछि उनी केही वर्ष गाउँकै विद्यालयमा मास्टर भए ।

विद्रोही स्वभावका उनमा प्रगतिशील साहित्य झाँगिइसेको थियो । यसैले उनले २०३४ तिर पञ्चेहरुको चर्तिकलाको पोल खोलेर आजको सवाई भन्ने कविता संग्रह प्रकाशित गरे ।

मोरङको बयरवनमा २०२८ सालमा भएको झोडा काण्डको पोल खोलेको थियो आजको सवाई कविताले । झोडा काण्डमा धेरै मानिसको ज्यान गएको थियो । कैयाैं परिपारलाई उठीवास गराइएको थियो ।

१३ वर्षको उमेर हुँदो हो त्यो बेला पौडल पनि आमा र दाजुसँग झोडा फाँड्न गएका थिए । यसैले झोडा काण्डका उनी प्रत्यक्ष दर्शी पनि थिए । त्यही झोडा काण्डले उनमा बिद्रोही भावना जन्माएको थियो ।

त्यो बेला पञ्चायतको शासन थियो, यसैले यस्तो चर्को बिद्रोह बोल्नेलाई बाँकी राख्ने कुरै भएन । यसैले उनले राजकाज सम्बन्धी मुद्दा खेप्नुपर्यो ।

उनी भूमिगत भएर काठमाण्डौ पुगेका थिए । सबैको जस्तो उनले पनि काठमाण्डौमा चर्को संघर्ष गर्नुपर्यो । त्यो बेला उनले वीरगञ्जबाट प्रकाशित हुने मालिङगो र छलफल साप्ताहिकमा पनि पत्रकार भएर काम गरे ।

२०४३ मा सघर्षकै क्रममा उनी कृषि विकास बैंकको जागिरे भए । चार वर्षअघि देखि उनी साझा प्रकाशन समितिको सदस्य पनि छन् । काठमाण्डौ र विराटनगरमा यो वर्ष भएको सफल पुस्तक मेलाको संयोजन गर्ने श्रेय पनि यिनै होचो कद र कालो वर्णका कवि पौडेललाई जान्छ ।

भीमचौरीको ज्योति स्कुलमा पढ्दा गुणदेव नामका शिक्षकको संगतले साहित्यमा आकर्षित भएका पौडेल क्याम्पस पढ्ने बेलासम्म चिनिएका कवि भैसकेका थिए । फुर्तिला र फरासिला युवा पौडल गाँउभरि लोकप्रिय थिए । चिनिएका साहित्यकार भएपछि पनि सबै माझ उनी उत्तिकै लोकप्रिय छन् ।

जीवनको आरोह अवरोहले भुक्तभोगी

जीवनमा संघर्ष गर्दा हुने आरोह अवरोहले मान्छेलाई भुक्तभोगी बनाउँछ । असल नियत राखेर संघर्ष गर्न सके मान्छे सफल हुन्छ । कवि पौडेल भन्छन– ‘म त्यसैको उदाहरण हुँ ।’

बग्रेल्ती फुटकर कविताहरु लेखिसकेका कवि पौडेललाई जीवनमा अझै धेरै गर्न बाँकी भन्ने लागिरहन्छ । यसैले उनी जागिरमा रिटायर्ड भएपछि मोरङमै आएर संघर्ष गर्ने सोचमा छन् । भन्छन्, – ‘जति गरियो र गरिँदै छ सही नियत राखेर गरिएको छ तर जसको कोही छैन उनीहरु धेरैका लागि अझै गर्न बाँकी नै छ ।’

मोरङ बेलबारीका कवि वियोग सापकोटालाई उनले धेरै गुन लगाएका छन् । वियोगलाई काठमाडौं ल्याएर आफ्नै घरमा आयोजना गर्ने गरेको बसिबियाँलो कार्यक्रममा उनले कविता फुराएका छन् ।

त्यसपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा पनि वियोग सार्वजनिक भएका थिए । केही महिना लगत्तै वियोगका आठवटा गीतको एल्वम पनि कवि पौडेलले नै निकाल्ने तयारी गरिरसकेका छन् । उनले एल्बमको गीत रेकर्ड भैसकेको र चाँडै बजारमा आउने बताए ।

बसिबियाँलो साहित्यक डबली ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा तीन तीन महिनामा ६ वर्षदेखि चलाउँदै आएका छन् पौडेलले । उनका अनुसार हालसम्म दुई दर्जन दुर्लभ स्रष्टाहरु बसिबियाँलोमा सहभागी भैसकेका छन् । यसभन्दा बढी स्राष्टाहरुले बसिबियाँलोमा बसेर आफ्नो रचना पाठ गरिसकेका छन् ।

नवलपरासीका राम बहादुर पहारी र सुनसरी चतराका प्रल्हाद पहरेदार बसिबियाँलोमा पुगेका चर्चित अनुहारहरु हुन् ।

सम्मानको ओइरो

साहित्यमा थोरै गर्ने तर सृजनशीलतालाई बढी प्राथमिकता दिने स्रष्टा हुन अनिल पौडेल । उनी कहिल्यै चर्चा खोजेर नहिँडेको बताउँछन् । न त अरुले जस्तो मिडिया खोज्दै उनी धाएका छन् । ‘बत्ती आफैं बल्छ तर हल्ला गर्दैन यसैले बत्तीको महत्व कहिल्यै नासिएको छैन’, पौडेलको बुझाई छ ।

उनलाई विज्ञापित हुने रहर पटक्कै छैन रे । तर कवि पौडलले एक दर्जन पुरस्कार र उत्तिनै सम्मान पाइसकेका छन् । अन्तर्राष्ट्रिय कविता सम्मेलन (अमेरिका) मा पनि उनी पुरस्कृत भइसकेका छन् ।

साहित्यमा पनि राजधानी र मोफसलको विभेद

अझै सबै क्षेत्रका मानिसमा जस्तै साहित्यकारहरुमा पनि मोफसल र राजधानीको दुरी कायम छ । मोफसलकाले राजधनीकालाई सराप्ने र राजधानीकाले मोफसलकालाई होच्याउने चलन कायमै छ ।

उनी अब मोफसल र राजधानीको दुरी हुन नहुने बताउँछन् । सूचना प्रविधिको युगमा अब अर्काको मुख ताकेर बसिरहनु पर्ने अवस्थाको अन्त भैसकेकोले हीन भावना र बडप्पन कसैले पनि पालिरहन आवश्यक नभएको पौडेलको भनाई छ । पौडेल भन्छन् –‘राजधानीमा त अब सरकारी सुविधा मात्र छ ।’

उनी गाउँमा बस्ने साहित्यकारहरुलाई हिनताबोध नपाल्न र निरन्तर साधना गर्न सुझाव दिन्छन् । साधनाकै लागि जागिरे जीवनपछि मोफसलमै आएर सृजनशीलतामा लाग्ने सोच उनले बनाएका हुन् ।


कवि पौडेलको बुझाईमा सबैभन्दा ठूलो र महत्वपूर्ण भनेकै मान्छे हो । मान्छे संसारको केन्द्र हो । यसैले साहित्यपनि मान्छेकै लागि हुनुपर्छ । साहित्य समाजको दर्पण पनि भएकोले समाजका मान्छेका लागि सृजना गरिने साहित्य नै प्रगतिशील साहित्य हो ।

पौडेलका अनुसार हरेक साहित्यकारको समाजका मान्छेका लागि दायित्व हुन्छ । यो नै साहित्यकारको जीवन हो । साहित्यको धर्म भनेकै समाजका मान्छेका लागि आफ्नो दायित्य पूरा गर्नु हो ।

मान्छेलाई सुख दिन सकेमात्र साहित्यकारको दायित्व पूरा हुन्छ । उसो त मान्छेको समाजमा साहित्य दुरुह हुनुपर्छ भन्नेहरु पनि छन् तर त्यो ठीक होइन । साहित्य समाजका लागि हुनैपर्ने पौडेलको तर्क छ । भन्छन् –‘आफनेैलागि मात्रै हो भने त लेख्दै सिरानीमुनि राखेर सुते भैगयो नि प्रकाशन प्रसारण किन गर्नु ?’

Loading...