वैदेशिक रोजागारभन्दा सरसफाइ पेशा प्यारो

बबिता लिम्बू
विराटनगर, १७ माघ । देशभन्दा बढी विदेशमै परिश्रम गर्न रुचाउनेहरूको जमात बाक्लिँदै गएको छ । तर विदेश पलायनहुने परम्पराले सरसफाइ पेशा गर्दै आएका विराटनगरका मरिक युवाहरूमा कुनै असर पारेको छैन ।

विराटनगर महानगरमा बसोबास गर्ने मरिक युवाहरूमा विदेशमोह देखिँदैन । काम गर्न सक्ने उमेर भएका सबै युवाहरू पढाइ बीचैमा छाडेर सरसफाइ पेशामा आवद्ध छन् । पुस्तौँदेखि गर्दै आएको पेशालाई नै उनीहरूले निरन्तरता दिइरहेका छन् ।

विराटनगर महानगरपालिकामा बसोबास गर्ने मरिक युवाहरूमा वैदेशिक रोजगारको आर्कषण पटक्कै छैन । उनीहरू हजारौँ खर्चेर विदेश जानुभन्दा देशमै आफ्नो परम्परागत सरसफाइ पेशामा रमाउँछन् ।

विराटनगरमा बसोबास गर्ने मरिक समुदायका अधिकांश मानिसहरू सरसफाइ पेशामा संलग्न छन् । महिलाहरू सडक बढार्ने र घर–कार्यालयमा झाडु पोछा लगाउने काम गर्छन् । पुरुषहरू भने फोहोर संकलन र बिसर्जन गर्ने, शौचालय सफाइ गर्ने गर्छन् ।

न्युन सङ्ख्यामा मरिक युवाहरू वैदेशिक रोजगारीमा गएपनि विदेशिने अन्य समुदायको जस्तो गाउँ नै खाली गरेर विदेश जाने चलन मरिकहरूमा आइसकेको छैन । विराटनगर महानगरपालिका निवासी १९ वर्षीय रोहित मरिक काम भएको अवस्थामा दिनमा दुई हजारसम्म कमाउने बताउँछन् ।

सात कक्षाको पढाइ छाडेर ११ वर्षको उमेरदेखि बुबासँग विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा उनले सरसफाइको काम सुरु गरेका थिए । आजकल उनी शौचालयको हज सफ गर्ने काम पनि गर्छन् ।

वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर फर्किएका राजन मरिक भर्खरै २२ वर्षका भए । कतार बस्दाको कमाइले सन्तुष्ट नभएपछि उनी नेपाल फर्किएर पुर्खाले गर्दै आएको सरसफाइ पेशा नै अँगालेका छन् ।

रक्की मरिकले पनि बुबाको कामलाई निरन्तरता दिइरहेका छन् । कक्षा १० सम्म पढेका उनले सरकारी कार्यालयमा काम गर्न थालेको दुई वर्ष भइसक्यो । हज सफा गरेर अतिरिक्त कमाइ हुने भएकोले विदेश जाने सोच उनलाई अहिलेसम्म आएको छैन ।

‘टन्नै काम भएको बेला दिनकै २ हजारसम्म हुन्छ,’ रोहित मरिक भन्छन्, ‘परिवारका सबैले काम गर्छन्, खान पुगेको हुन्छ, लाउन पुगेको छ, विदेश किन जानु ?,’ बस्तीमा मानिसहरू आफैँ खोज्दै आउने भएकाले उनीहरूलाई कामको दुःख हुने गरेको छैन ।

वैदेशिक रोजगारमा कतार पुगेर फर्किएको भोलिपल्ट नै काम गर्न थालेका राजन मरिक भन्छन्, ‘यहाँ काम नपाइएला भन्ने डर नै हुँदैन, किन जानु विदेश ?’

सरसफाइ पेशामा राम्रो आम्दानी भएकाले नै अधिकांश युवा विदेश जान मन नगरेको हुनसक्ने विराटनगर ११ केशलिया रोडका राकेश यादव बताउँछन् । एउटा शौचालय सफा गरेको नै ८ सय देखि १ हजार सम्म लिने गरेको बताउँदै यादव भन्छन्, ‘दिनको दुई वटा शौचालय मात्र सफागर्ने हो भने पनि २ हजार हुन्छ अनि किन विदेशको मुख ताक्नु ।’

(प्रशिक्षार्थी पत्रकार)

Loading...