नेपालमा बालविवाह

विष्णु शर्मा
विष्णु शर्मा


महिलाअधिकार र सशक्तीकरणका सम्बन्धमा विगत तीन दशकदेखि अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा धेरै सकारात्मक र उत्साहवद्र्धक कार्यहरू भएका छन् । महिला र पुरुषको समानता सगैं, महिला शिक्षा, स्वास्थ र रोजगारीका सम्बन्धमा उल्लेख्य कामहरू भए तापनि आज पनि विश्वका धेरै देशहरूमा महिला सशक्तीकरणको सबैभन्दा ठूलो अवरोधका रूपमा बालविवाह रहेको छ । बालविवाहका कारण आज पनि विश्वमा सत्तरी करोड महिला २० वर्षको उमेर पुग्नुभन्दा अघिनै वैवाहिक जीवनमा प्रवेश गर्न बाध्य छन् । त्यसमध्ये २५ करोड १५ वर्षको उमेर अगाडिनै विवाह बन्धनमा बाँधिन्छन् ।

विवाहमा सहभागी एक वा दुवै जनाको उमेर २० वर्षभन्दा कम रहेको विवाहलाई बालविवाह भनिन्छ । यस्तो विवाहमा बालकहरूको सहभागिता भए पनि उनीहरूलाई भन्दा बालिकाहरूलाई विवाहले बढी क्षति पुर्‍याउँछ । यस्तो विवाहलाई चाँडो विवाह वा जबरजस्ती विवाह पनि भन्ने गरिन्छ किनकि यो उमेरमा विवाहको सम्बन्धमा बालबालिकाले स्वतन्त्र निर्णय गर्न सक्दैनन् ।

सानो उमेरमा विवाह हुँदा बालिकाहरूले शारीरिक तथा मानसिक रूपमा सहज ढड्डले भइरहेको प्राकृतिक र नैसर्गिक विकाशमात्रै गुमाउंँदैनन्, आफ्नो परिवार र साथीहरूबाट टाढिनुका कारण सामाजिक रूपमा समेत उनीहरू एक्लिन्छन् । केटाकेटीदेखि आफूले प्राप्तगर्दै आएको साथ र सहयोग गुमाउनु परेका कारण सीमित रूपमा प्राप्त हुने शिक्षा र रोजगारीको अवसरबाट समेत उनीहरू बञ्चित हुन्छन् । त्यसैले बालविवाहका कारण सानैबाट महिला पुरुषभन्दा पछाडि पर्ने वातावरण निर्माण हुन जान्छ ।

बालविवाहका असरहरू

आज पनि विश्वका धेरै देश र समाजमा बालिकाहरूको शिक्षा र विवाहको सम्बन्धमा परिवारले गर्नेे निर्णय अन्तिम हुन्छ र सो अवस्थामा विवाहको अगाडि शिक्षा कम प्राथमिकतामा पर्ने गरेको पाइन्छ । शिक्षाबाट बञ्चित भएका बालिकाहरूको प्रायजसो सानो उमेरमा विवाह भएको भेटिन्छ । बालविवाहका कारण शिक्षाबाट बञ्चित भएका उनीहरू रोजगारीबाट समेत बञ्चित हुन्छन् र जीवनभर आर्थिक रूपमा पुरुषसँग आश्रित हुन पुग्दछन् । आर्थिक अभावको असर उनीहरूको स्वतन्त्र हैसियतसँगै उनीहरू र उनीहरूको बच्चाको स्वास्थ्यमा समेत पर्दछ ।

सानो उमेरमा विवाह भएका बालिकाले सुरक्षित यौनसम्बन्धको पक्षमा आवाज उठाउन नसक्ने भएकाले सानै उमेरमा यौनहिंसाको शिकार भई सानैमा गर्भवती हुनुको अलावा सरुवा यौन रोग वा एचआईभी जस्ता संक्रमणको शिकार हुन पुग्दछन् । विवाहपछि छिटो बच्चा पाउने अत्यधिक दवाव पर्ने हुँदा सानो उमेरमा विवाह भएका महिलाहरूले धेरै बच्चा पाउन बाध्य भएको पाइन्छ । यसबाट भर्खर विवाहको उमेर हुंँदैगर्दा नै महिलाहरू धेरै बच्चाको आमा भइसकेका हुन्छन् र सानै उमेरदेखि यस्ता आमाहरूको स्वास्थ्य गम्भीर रूपमा बिग्रन जान्छ ।

आमा बन्न शारीरिक र मानसिक रूपमा तैयार नहुँदै आमा बन्न बाध्य पारिएका बालिकाहरूको जीवन र उनीहरूको बच्चाको जीवन निकै ठूलो खतरामा रहन्छ । यसैकारण सानै उमेरमा विवाह गरिने देशहरूमा आमा र बच्चाको मृत्युदर धेरै रहेको पाइन्छ । सानै उमेरमा आमा हुनुपरेकोले पाठेघर खस्ने रोगबाट नेपालमा धेरै महिलाहरू ग्रस्त छन् । यी सबै असरहरूका कारण विशेषतः बालिकाको हकमा बालविवाह एउटा सामाजिक घटनामात्र नभएर मानवअधिकारको गम्भीर उल्लङ्घन हो भन्ने स्पष्ट देखिन्छ ।

संसारभरि हुने बालविवाहमा झण्डै आधाजसो बालविवाह दक्षिण एशियामा भएको पाइन्छ र विश्वको अन्य कुनैपनि क्षेत्रमा हुने बालविवाहभन्दा यो बढी रहेको पाइएको छ । विश्वमा सबैभन्दा धेरै बालविवाह हुने १० देशमा नेपाल पनि पर्दछ । ती १० देशमा दक्षिण एशियाका भारत, नेपाल र बंगलादेश पर्दछन् । तुलनात्मक रूपमा यी देशहरूमा सबैभन्दा बढी बालविवाह विद्यमान रहेको पाइएको छ । नेपाल संसारकै १० सबैभन्दा बढी बालविवाह रहेको देशमा गनिनुले बालबालिकाका सन्दर्भमा नेपालको मानवअधिकारको स्थिति अत्यन्तै जटिल र लज्जास्पद रहेको देखाउँछ ।

सामाजिक मान्यता, गरिबी र अशिक्षाका कारण नेपालमा बालविवाह अझ पनि विद्यमान रहेको भएता पनि कानूनी रूपमा बालविवाहलाई बदर गर्न सकिने विवाहको रूपमा राखी बालविवाह गराउने कार्यलाई अपराधसरह मानी कैद तथा जरिवानाको व्यवस्थासमेत गरिएको छ । त्योसँगै अन्तर्राष्ट्रिय मान्यताबमोजिम २० वर्षभन्दा मुनिको उमेरमा विवाह गर्न कानूनतः नहुनेगरी विवाहको उमेर हद तोकिएको छ ।

अन्तमाः नेपालमा बालविवाहसम्बन्धी कानून क्रियाशील रहेता पनि त्यसको प्रभावकारी कार्यान्वयनको अभावमा आज पनि ठूलो मात्रामा बालविवाह भइरहेको पाइन्छ । यसलाई रोक्ने प्रथम दायित्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअन्र्तगत नेपाल सरकारको रहनेमा विवाद छैन । त्योसँगै बालविवाहले बालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा पार्नसक्ने असरका सम्बन्धमा गम्भीरताको जरुरी छ । बालविवाहबाट मूलतः बालिकाको मानव अधिकारको गम्भीर रूपमा हनन् हुने भएकोले सो सम्बन्धमा सरकारसँगै घर परिवार र समाजसमेत सचेत भई बालविवाह जस्तो मानव अधिकार उल्लङ्घनसँगै महिलाविरुद्धको जघन्य अपराध रोक्न सबैले प्रभावकारी भूमिका निर्वाह गर्न अब अबेर गरिनुहुन्न ।

विष्णु शर्मा एबीसी नेपाल, मोरङको सभापति हुन्

Loading...