स्कुटरमा सरस्वती

हरि अधिकारी

सरस्वती पूजा बहिनीले भोलि भन्दा मात्र झसँग भए । व्यस्तताले होला वर्षाैंदेखिको प्रिय देवीको पूजा गर्न अरुले नै सम्झाउनु पर्‍यो ।

स्कूलमा हुँदा सरस्वती पूजाको मिति एक महिनाअघि नै थाहा पाउथेँ । बुनियाँ कहाबाट ल्याउने, मूर्ति कस्तो ल्याउने, लिंगो गाड्ने की नगाड्ने, धजापतका टाँस्ने की नटाँस्ने, प्रसादीमा के–के मिसाउने, मूर्ति सेलाउन कहाँ लैजाने भन्ने विषयले एक महिनाअघि नै कक्षा कोठामा प्रवेश पाउँथ्यो । तर आज अघिल्लो दिन मात्र थाहा पाएँ ।

प्रिय विद्याकी देवी तिमीप्रतिको आस्था घटेको छैन । विश्वास टुटेको छैन । तिमीले उब्जाएका शब्दहरू सापटी लिएर मैले लगाएको बाली राम्रैसँग फस्टाउँदैछ । तर स्कूल छुटेका कारण तिम्रो विषेश दिन याद भएन । चित्त नदुखाउ ल । हिजोको जस्तो बुनियाँ बाँड्ने योजना बनाउन सक्दिँन् । तर ती मिठा पलहरू सम्झिएर तिम्रो पूजा गर्छु ।

रातको पौने ११ बजिसकेको थियो । एक्कासी मानसपटमा आएकी तिमीले बालापनको याद दिलाइदियौं । सानैदेखि गुलियो खाने बानी भएर होला आज तिम्रो मूर्तिभन्दा बढी गुलियो बुनियाँ र टर्रो बयरको सम्झना आइरहेको छ ।

कक्षा १ पढ्दादेखि तिमीलाई पूजा गर्न स्कूल जान्थेँ । याद छ तिमीलाई ? तिम्रो मूर्तिको दर्शन गर्न रतिभर समय लाग्दैन थियो । किन थाहाँ छ ? मलाई तिम्रो आरधनाभन्दा बढी लोभ बुनियाँको हुन्थ्यो । बुनियाँका लागि केटाकेटीको छुट्टै लाइन लाग्थ्यो । केटाहरूको लाइनको अगाडि बस्न हतार हुन्थ्यो । हाम्रो स्कूलमा पूजा सकिएपछि छिमेकी स्कूलमा पनि बुनियाँका लागि जानु थियो ।

म गुलियो मन पराउने बाहुनको छोरो । गुलियो चिया नखाने मेरा लिम्बू साथीहरू पनि बुनियाँ भनेपछि हुरुक्कै । तर बुनियाँ खाने लाइनको अगाडि कहिलै बस्न पाइँन । अगाडि बस्न ठेलामठेल हुँदा हेडसर लठ्ठी बोकेर आउँथे । सरको छडी देखेर कहिले बीचमा कहिले पुछारमा पुग्थेँ । अनि मनमनै गाली गर्थे आज पनि लठ्ठी बोक्नुपर्ने यीनलाई ।

हाम्रो स्कूलको पूजापछि बयरबनको जनता र रमाइलोको जनसेवा पनि पुग्नु थियो । बुनियाँका लागि एक मिनेट लाइनमा बस्दा पनि घण्टौँ जस्तो लाग्थ्यो । पालो ढिलो आउँदा खटपटको त कुरै नगरौं । फेरि अगाडि बस्नेले धेरै पायो कि भन्ने चिन्ता पनि ।

अन्तरमनमा अनेक शंकाकाे युद्धपछि बल्ल कागजमा पोको पारेको प्रसादी हातमा पर्थ्यो । तर बुनियाँभन्दा बढि बयर, उखु र काँचो मेवाको चाना । थोरै बुनियाँ फारु गर्दै खाँदा लडाइ गरिरहेका बिचारहरूले युद्धविराम गर्थे ।

अर्काे स्कूलमा पनि बुनियाँका लागि गर्ने संघर्ष कम थिएन ।

बिहान ६ बजे नुहाएर अगरबत्ति, अक्षता र फूल लिएर निस्किएपछि घर फर्कन बाह्र, एक बज्थ्यो । आधा दिन आफ्नो स्कूल होइन्, जनता र जनसेवा स्कूलमा बुनियाँका लागि संघर्ष चल्थ्यो । फर्कँदा पेट अघाएपनि मन त भोकै हुने ।

मध्यरातमा थारेश्वर, जनता र जनसेवा स्कूललाई सम्झिँए । मीठो अतितमा हराउँदा निदाएको पत्तो पाइँन । सरस्वतीले बोलाउँदा मात्र झसँग भए ।

ओए चिनिनस्,
अ हँ चिनिन् !
उनले भनिन् – म सरस्वती के, तैँले पूजा गर्ने !

पहेलो रङको भेस्पा स्कुटरमा आएकी उनले जिन्स पेन्ट र माघको चिसोमा टिसर्ट मात्र लगाएकी थिइ । हातमा बोकेको आइफोन ११ प्रोमा बेला–बेला आफ्नो अनुहार हेर्थी । एकैछिन नियालेँ कतै देखेजस्तो लाग्यो तर ठम्याउन सकिँन ।

आरे यार यति चाँडो बिर्सिदिएको ? म त्यहीँ सरस्वती के श्रीपञ्चमीमा तैँले पूजा गर्ने ।

म अलमल्ल परेँ, मैले पूजा गर्ने सरस्वती त चार हात भएकी, सेतो साडी लगाएर कहिले हाँसमा कहिले कमलको फूलमा बसेर हातमा कपी कलम बोकेकी थिइन् ।

मेरो मौनताको आशय बुझेर उनले भनिन्– अनि तँ पनि त हिजो सानै थिइस् । मैलेचाहिँ समयअनुसार आफूलाई परिवर्तन गर्न नपाउनु । फेसनेबल लुगा लगाउन नपाउनु ?

मलाई अझै विश्वास लागेको थिएन । उनले मोबाइलमा भएको पुरानो फोटो देखाइन् । मधुरो देखिने फाटो हिजो अस्ती मैले पूजा गरेको जस्तै थियो । फोटो हेरेपछि उनको अनुहार हेरे । अब सरस्वती जस्तै लाग्न थाल्यो ।

उसले भनी– यो पुरानो फोटो । मोर्डन युग कि सरस्वतीचाहिँ तेरै सामु अभिएकी छे ।

म फिस्स हाँसे ।

मेरो हाँसो सेलाउन नपाउँदै उनले भनिन् चिया पनि नखुवाउने ?
ओके जाउँ,

मेरो चिया खाने अड्डा मोति दाईको पसल थियो । सरस्वतीलाई उतै जाउँ भने ।
२१ अाैं सताब्दीकी सरस्वतीले कुदाएकाे स्कुटर पछाडि बसेर मोति दाईको चियाँ पसलमा पुगेँ ।

थाेतेदात देखाउँदै दाईले २ कप चियाँ दिए ।

टेवलमा आमने–सामने बसेका थियौं । चियाको चुस्की मार्दै सरस्वतीले भनिन्– मलाई पुरानैशैली मन पर्छ । तर यो फेसबुक ट्वीटरले गर्दा मोर्डन भएर आउनुपर्यो । मान्छेले किताब किनेर पढ्न छाडे, डायरी राख्न छाडे, सबै काम यही ट्याँक्रोबाट (माेबाइल देखाउँदै) गर्छन । अब त स्कूल पढाउँदा पनि कपीमा लेख्न नदिने भन्दैछन् । प्राेजेक्टरमा पढाउने ल्यापटपमा लेखाउने रे ।

हुँदा–हुँदा मेरो पूजा पनि प्रोजेक्टरमा फोटो राखेर गर्न थाले । मेरो फाेटाे ताेडमाेड गर्न थाले । भेटीमा लभ र लाइकको रियाक्ट चढाउँछन् । फेसबुक र गुगलले मेरो अस्तित्व नै ओझेलमा पार्दिए । कतै मूर्ति राखिहाले पूजा गर्दा डिजेवाला बाबु मेरा गाना बजादे भन्दै नाच्छन् ।

हिजो पढाइमा अब्बल बनादेउ भन्दै आर्शिवाद माग्ने मान्छे आइप्याड चलाउन सिकादेउ भन्छन् । सबैको ध्यान मोबाइल, इन्टरनेटमा छ । कतै गए हालखबरभन्दा पहिले वाइफाईको पासवर्ड सोध्छन् ।

मैले दिएको ज्ञानको प्रयोग गर्न छाड्दैछन् । मान्छे यस्तो कुलतमा फसे जसले उनीहरूको सृजनशीलतालाई ह्रास गर्दैछ, स्मरणशक्ति घटाउँदैछ । समाजमा परिवारमा बिचलन ल्याउँदैछ । एउटै घरमा आमाबुबा छोरा–छोरी पराईजस्तै हुन थाले । खाना माग्दा ओल्लो कोठामा बसेको छोराले भान्सामा भएकी आमालाई म्यासेज पठाउँछ ।

अहिलेको पुस्ताक झन् …
चिया सकिनै लागेको थियो । उनका गम्भीर कुरा ज्ञानी भएर सुनिरहेको थिए । एक्कासी मोबाइल बज्यो । झसंग भएर हेरेँ बिहान ५ः३० बजेको अलार्म रहेछ । भेस्पामा चढेर मोति दाइको पसलसम्म पुगेकी सरस्वती छुटिन् । बिदा गर्न पाइँन । सुरुमा नचिनेकोमा सरी भन्न पनि पाइँन ।

म ओछ्यानमा छट्पटाइरहे । नयाँ पुस्ताका बारेमा केही भन्न खोज्दै थिइन् यो ट्याँक्रो ४० हजारको मोबाइलले रोक्यो । फेरि आखा चिम्लिएँ, जवरजस्ती मोति दाइको दोकानसम्म पुगेँ । टेवल खाली थिए । गिलासमा चिया सकिएकाे थिएन् । मोति दाईले भने, ‘भाई तिमीसँग रिसाएर गइन् ।’ https://hari-portal.blogspot.com/

Loading...