पूजा गर्न स्कूलमै छिर्न पाइएन : सम्झनामा सरस्वती पूजा

माधव काफ्ले
२०६६ सालको सरस्वती पूजा । मैले एसएलसी दिएको वर्ष । मोरङको ग्रामथान गाउँपालिका–७ नेताचौकस्थित नेताचौक मोडेल एकेडेमी स्कूलमा सरस्वती पूजाको तयारी भरपूर थियो । भोलिपल्टको दिन सरस्वती पूजा भएकाले अघिल्लो दिन साँझपख केही साथीका साथ म विद्यालय गएको थिएँ ।

१० कक्षाको विद्यार्थीले टेस्ट र एसएलसीको तयारी गर्नुपर्छ भन्दै स्कूलले सरस्वती पूजाको तयारी गर्ने जिम्मेवारी कक्षा ९ लाई सुम्पिएको थियो । तर पनि नौ कक्षाका भाइ–बहिनीलाई सघाउन भन्दै म र सुजन, उमेश, सरोज, केशव, मदन र सुदिप गरी ७ जनाको टोली स्कूल गएका थियौं । तर, सरहरूले हामीलाई गेटभित्र पनि छिर्न दिएनन् ।

यसको एक मात्र कारण भनेको हामी ‘रेस्टिकेटेड’ हुनु थियो । कपाल नकाटेको भन्दै एक साताअगाडि सरहरूले मलगायत कक्षा १० का ७ जनालाई रेस्टिकेट गरिदिएका थिए । केही दिनअगाडि सरहरूले शुक्रबारसम्म कपाल काटेर आउन निर्देशन दिएका थिए । तर, १६–१७ वर्षे उमेर । सरहरूको कुरा मान्न नखोज्ने हामी कपाल नकाटी शुक्रबार विद्यालय गएका थियौं ।

लाइन बसेर पिटी खेलाइरहेका बेला हामी ७ जनालाई सरले अगाडि लगेर भाटा बर्साउन थाले । म कक्षाको फर्स्ट विद्यार्थी थिएँ तर अगाडि गएर मैले नै पिटाइ खाइरहेको थिएँ । सबैलाई बराबरी कुटेपछि अन्त्यमा हेड सर रेस्टिकेटको घोषणा गरे । हामी पनि आ–आफ्नो ब्याग बोकेर घरतिर लाग्यौं ।

त्यसको तीन–चार दिनपछाडि सरस्वती पूजा थियो । रेस्टिकेट गरेका कारण हामीलाई सरहरूले सरस्वती पूजाको अघिल्लो दिन गेटबाट छिर्न दिएनन् । स्कूलभित्र छिर्न केही सीप नलागेपछि हाम्रो टोली एउटा साथीको घरतिर लाग्यो । साथीको घर स्कूलबाट ३ किलोमिटर टाढा थियो । बरालिँदा–बरालिँदै राति अबेर भइसकेको थियो ।

माघको महिना, जाडो मनग्य थियो । रातमा पनि शीतलहर उस्तै लागेको थियो । अँध्यारोमा भए तापनि हिँड्दै–हिँड्दै साथीको घरतिर जाँदैथियौं । बाटोनजिक परालका मुठा हुन्थे । हामीमध्ये कहिलेकाँही चुरोट सेवन गर्ने एउटा साथी थियो । उसले परालको बिटो ल्यायो र सल्काएर एकछिन घुर (आगो) तापेर जाम भन्न थाल्यो ।

सबैजना आगो ताप्दै थियौं । उमेर नै भन्नुपर्छ । बुद्धि पनि उटपट्याङ नै थियो । हामीले बीचसडकमा आगो बालेका थियौं । राति १२–१ बजिसकेका कारण बाटोमा कोही हिँडेका थिएनन्, शिवाय हामी । तर, एकाएक रातो बत्ति टल्काउँदै इलाका प्रहरी कार्यालय हरैँचाको गाडी आयो । केही साथी भने भागौं भनेर अत्तालिए, केहीले भने नभाग्न सुझाव दिए । एउटा साथीले भन्यो, ‘नभागौं, भाग्यो भने पुलिसले गोली ठोक्छ ।’

उसको कुरा सुनेर कोही पनि भागेनन् । मलाई त अझ यसबारे केही थाहा नै थिएन । कहिल्यै यस्तो केसमा परेको थिइँन । प्रहरीको गाडी हामीबीचमा आएर उभियो । र, २ जना पुलिस उभिएर लाठी भुँइमा बजार्दै भने,– ‘को हो तिमीहरू ? यो केको दादागिरी ?’

हामीमध्ये एउटाले बोलिहाल्यो, ‘हैन सर ! जाडो भएर आगो बालेको ।’ एक जना प्रहरी गाडीभित्रैबाट बोले, ‘सालेहरू जाडो भयो भन्दैमा बीच सडकमा आगो बाल्ने ? ए यिनीहरूलाई गाडीमा हाल् ।’

यस्तैमा अर्को साथीले बोल्यो, ‘सर हामी विद्यार्थी हौं । सरस्वती पूजाको तयारी सकेर फर्किएका ।’
प्रहरीको प्रश्न एक्कासी मतिर तेर्सियो, ‘हो भाइ ?’ मैले डरले मुन्टो मात्र बंगाउन सकेँ । पुलिसलाई म विश्वासीलो लागेर यसरी प्रश्न तेर्स्याएको थिएन । उसलाई त म सानो देखेर र ढाँट्न नआउला भनेर प्रश्न गरेको थियो ।’

फेरि एउटा पुलिसले गाडीको पछाडिपट्टिको ठाउँ पन्छाए र भने, ‘ल यिनीहरू सबैलाई यहाँ हाल् । चिसो छिँडीमा सुतून् ।’

हामीमध्ये एउटा साथीले भनिहाल्यो, ‘सर कस्तो कुरा गर्नुभएको । हामी विद्यार्थी हौं । अब यो आगो निभाएर हामी घर जान्छौं ।’ फेरि अर्का एक प्रहरी दाइ कड्किए । भने, ‘ए साले ठूला कुरा गर्छस् । विद्यार्थी भन्दैमा बीच बाटोमा आगो बाल्ने ? फेरि चोरका बिगबिगती छ । सबैलाई चोर भनेर खाँदिदिन्छु नि ।’

तर, साथी उस्तै चर्किरह्यो । हाम्रो चर्काचर्कीबीच गाडीभित्र रहेका एक जना प्रहरी आए । र, हामीलाई सम्झाउँदै भने, ‘भाइहरू तिमीहरूको नाम टिपाओ र जाओ । पछि चोरी–सोरीको केस आयो भने सबैलाई जेल हालौंला ।’

साथीहरूले नाम टिपाउन थाले । मेरो नजिकै रहेको एउटा साथीले मेरो कानमा खुसुक्क भन्यो, ‘नामचाहिँ झुटो भन्नुपर्छ है, नत्र पछि पक्रिन्छन् ।’ सबै साथीहरूले पुलिसलाई अर्कै–अर्कै नाम भने । प्रहरीले एक्कासी मलाई सोधे, ‘ओइ फुच्चे ! तेरोचाहिँ नाम के हो नि ? तँ त फटाह जस्तो लागेन मलाई ।’

म अलमल्लमा परेँ र भने, ‘सर मेरो नाम माधव हो । कोही फटाह हैन । अब हामी यो आगो निभाएर घर गएर सुत्छौं र अब कहिल्यै यस्तो काम गर्दैनौं ।’

‘केटो धाराप्रवाह नै रैछ, अघिचाहिँ बोलेन’, गाडीमा बस्दै पुलिसले भने, ‘यो आगो निभाएर घर जानू । फर्किँदा यहाँ देखेँ भने गाली होइन गोली ठोक्छु ।’ हाम्रो मुखमा ‘हस्’ भन्ने शब्दबाहेक अरु क्यै रहेन ।

त्यसपछि मैले सबैमा कुरामा हामी उत्ताउलो केटाहरूकै गल्ती महसुस गरेँ । शिक्षकहरूले हाम्रै लागि कपाल काट्न भनेका थिए । मलाई गाउँ–घरमा पनि कपाल लामो भएको प्रतिक्रिया आइरहेकै थियो ।

फेरि यता बीच बाटोमा आगो बालेर ‘तमासा’ हामीले नै गरेका थियौं । यदि, प्रहरीले हामीलाई सकारात्मक तरिकाले नलिएको भए । हामीले त्यो रात चिसो छिँडीमा सुत्न पर्थ्यो । फेरि गाउँ–घरमा यसै विषयलाई लिएर बद्नाम त छँदैथियो । यदि, हामी थाना बसेका थियौं भने स्कूलसम्म पनि हाम्रो गन्ध पुग्थ्यो । पछिसम्म हामीलाई यो विषयले पोल्थ्यो सायद ।

एउटा नेपाली उखानै छ नि, ‘वास्ना डाँडावारिसम्म, गन्ध नौ डाँडापारिसम्म…’

Loading...