गाँजा फुकुवा गर्न नेकपाका सांसदहरुले दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, १५ माघ । गाँजा तथा भाङ माथिको कानुनी प्रतिबन्ध हटाउन माग गरी संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ ।

सत्ताधारी दलका सांसद विरोध खतिवडाले दर्ता गराएको प्रस्तावमा नेकपाका ४६ जना संसदको समर्थन रहेको छ ।

लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ।

गाँजाको प्रतिबन्ध फुकुवा भए मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउन सकिने उनीहरुको भनाइ छ ।

प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरूको माग छ।

सन् १९७० को दशकमा भाङ तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीलगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको प्रस्तावमा उल्लेख छ।

विश्वका ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आआफ्नो देशका किसानको आम्दानी वृद्धिका लागि खुला गरिसकेको प्रस्तावमा उल्लेख छ।

गाँजाबाट तीन सय बढी प्राकृतिक औषधि उत्पादन हुने र प्राकृतिक उपचार विधिमा सहयोग पुग्ने प्रस्तावमा छ।

Loading...