विराटनगर, १५ माघ । भारतमा जारी आइ लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेमजोङ सम्मेलित टोली पञ्जाबले जित निकालेको छ ।
बुधबार भएको खेलमा पञ्जाबले नेरोकामाथि ३–२ गोलको जित निकालेको हो ।

गुरु नानकमा भएको उक्त खेलमा पञ्जाबलाई जिताउन एसिएर पेइर्रिक डिपान्डा डिक्काले ह्याट्रिक गरे । पराजित टोली नेरोकाका लागि वरुण ठोक्छमले २ गोल गरे ।
किरण सम्मेलित टोली पञ्जाबले नेरोकाले बनाएको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो ।
खेलको चौथो मिनेटमा ठोक्छमले गोल गर्दै नेरोकालाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको २०औं मिनेटमा उनले दोस्रो गोल गर्दै नेरोकाको अग्रता दोब्बर बनाए ।
तर, खेलको २७औं मिनेट र ४४औं मिनेटमा डिक्काले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै खेलको ९०औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरी डिक्काले पञ्जाबलाई ३–२ गोलको जित दिलाए ।
डिक्काको तेस्रो गोलमा भने किरणले असिस्ट गरेका थिए ।
यस जितसँगै लिगको दोस्रो स्थानको पञ्जाबले १० खेलबाट १७ अंक बनाएको छ ।
शीर्ष स्थानको मोहुन बगानसँग २० अंक छ । बगानले ९ खेल खेलेको छ ।