एजेन्सी, १५ माघ । जापानले अन्डर–१९ क्रिकेट खेल्न थालेको धेरै भएको छैन ।
सन् २०११ बाट पूर्वी एशिया–प्यासिफिक क्षेत्रीय अन्डर–१९ छनौट खेल्दै उमेर समूहमा क्रिकेट खेल्न सुरु गरेको जापान एक दशकभित्र नै विश्वकप खेल्न सक्नु आफैंमा उदाहरणीय कुरा हो ।

जापानले २०२० अन्डर–१९ विश्वकप क्रिकेट खेल्नुमा खेलाडीको मिहिनेत, सरकारको लगानीबाहेक एउटा रोचक अनि चाखलाग्दो रहस्य पनि जोडिएको छ ।
जापानले पपुवान्यूगिनीका खेलाडीहरूको गल्तीका कारण विश्वकप खेल्ने मौका पाएको हो ।
यदि, पपुवान्यूगिनीका खेलाडीले उक्त गल्ती नगरेको भए जापानले विश्वकप खेल्ने अवसर नपाउन पनि सक्थ्यो । त्यही गल्तीका कारण पपुवा भने नवौंपटक विश्वकप खेल्ने मौकाबाट चुक्यो ।
गत वर्ष पपुवान्यूगिनी र जापान पूर्वी एशिया–प्यासिफिक क्षेत्रीय क्वालिफायरको फाइनलमा भिड्ने पक्का भइसकेको थियो ।

फाइनल खेल सुरु हुनु केही घण्टा पहिले पपुवान्यूगिनीका १० खेलाडी टोकियोको उत्तरी क्षेत्रमा पसल चोरी गर्ने क्रममा समातिन पुगे ।
यो घटनापछि पपुवान्यूगिनी क्रिकेट संघले चोरी आरोपमा पक्राउ सबै खेलाडीलाई बर्खास्त गरिदियो । खेलाडी कारवाहीमा परेपछि पपुवान्यूगिनीले म्याच नखेल्ने निर्णय गर्यो ।
सो निर्णयले गर्दा नै जापानले फाइनल खेल जित्यो र क्वालिफायरको विजेता हुँदै पहिलोपटक विश्वकप खेल्ने अवसर पायो ।
दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा समूह ए मा रहेको जापान ३ खेलबाट एक अङ्क बटुल्दै समूहको पुछारमा छ ।