हुम्लामा चिसोले कठ्याङ्ग्रिएर ८ जनाको मृत्यु

हुम्ला, १५ माघ । हुम्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म परेको हिमपात हुँदा चिसोका कारण आठ जनाको मृत्यु भएको छ ।

दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो ।

सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतका अनुसार हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृत्यु भएको हो ।

करिब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिए ।

हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ ।

त्यस्तै बैंक कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिइन् । रासस

Loading...