Rumpum Advertisement

सीसी टिभीबाट निगरानी, स्पीकरबाट निर्देशन, स्मार्ट बोर्डमा पढाइ (भिडियो रिपोर्टसहित)

Neuro Revised Adv
Koshi Dashain ad
सीसी टिभीबाट निगरानी, स्पीकरबाट निर्देशन, स्मार्ट बोर्डमा पढाइ (भिडियो रिपोर्टसहित)

यज्ञ अधिकारी
सुनसरी (चतरा), १३ माघ । कक्षामा राखिएको स्पीकरमा एक्कासी आवाज आउँछ, ‘सबै जना शान्त भएर बस्नु, सर पढाउन आउँदैहुनुन्छ ।’ अनि चकचक र होहल्ला गरिरहेका विद्यार्थीहरू तुरुन्त सर्तक हुन्छन् र आ–आफनो बेन्चमा गएर बस्छन् ।सर कक्षामा प्रबेश गर्छन र ईलेक्ट्रिक बोर्डमा बिषय लेखेर बिद्यार्थीहरुलाई पढाउन सुरु गर्छन ।,

यो दृश्य सँधै दोहोरिरहन्छ सुनसरीको बराहक्षेत्र नगरपलिका–२ स्थित आर्दश माविमा । नमुना सामुदायिक विद्यालय घोषणा हुन गरहेको यहाँ कक्षा १ देखी १२ सम्मका सबै कक्षामा सीसी टिभी र स्पीकर जडान गरिएको छ ।

सीसी टिभी र स्पीकर राखेपछि सबै कक्षामा के भइरहेको भन्ने कार्यालयबाट निगरानी गर्न विद्यालयलाई सहज भएको छ । विद्यार्थीहरूले चकचक गरेको देखिएमा तुरुन्त अफिसबाटै कक्षामा रहेको स्पिकरमा शिक्षकहरूले आवश्यक निर्देशन गर्ने गर्दछन् । विषयगत शिक्षक गयल भएमा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा लाग्न वा अन्य कुनै होमवर्क दिन पनि सीसीटिभी र स्पीकरबाट सहज भएको छ ।

कक्षामा सीसी टिभी र स्पीकर जडान भएपछि पठनपाठनमा मात्र नभएर अनुशासनमा पनि धेरै सुधार आएको विद्यालयका प्रधानाध्यापक प्रल्हाद भट्टराई बताउँछन् । उनका अनुसार सरहरूले देख्छन्, ढाँट्न–छल्न सकिँदैन भन्ने बुझेकोले पहिलेजस्तो कक्षामा विद्यार्थीहरूले उपद्रो पनि गर्न छाडेका छन् । कक्षामा गएर अल्छी गरेर बस्ने तर नपढाउने शिक्षकहरूको निगरानी गर्न पनि सीसी टिभीले सजिलो बनाएको छ ।

शिक्षकहरूका अनुसार सीसी टिभी राखेपछि विद्यार्थीहरूले परीक्षामा चिट पनि चोर्न छाडेका छन् । ‘ढाँट्न सकिँदैन भन्ने बुझेपछि विद्यार्थीहरूले परीक्षमा चिट नै ल्याउन छाड्दा रहेछन्’, शिक्षक भेषराज घिमिरेले भने ।

प्रअ भट्टराईका अनुसार नमुना विद्यालय बनाउनका लागि शिक्षा विभागले चालु वर्षमा भवनसहितको भौतिक संरचना निर्माण र उपकरण जडानका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । जस अन्तर्गत दुई वटा सुविधासम्पन्न दुईतले भवन थपिएका छन् ।

विद्यालयका सबै कक्षा र प्राङ्गणमा सिसी टिभी, स्पीकर र स्मार्ट बोर्ड (इलेक्ट्रिक बोर्ड) जडान गर्ने र सबैका लागि हुनेगरी लाउडस्पीकर राख्ने काम भइसकेको छ । सार्वजनिक वा सबैका लागि सूचना वा निर्देशन गर्नुपरे लाउडस्पीकर प्रयोग गर्ने गरिएको छ । जसले कक्षा कक्षामा गएर सूचना सुनाउनुपर्ने झन्झट पनि हटेको छ ।

२०१२ सालमा स्थापना भएको आर्दश माविमा हाल १३ सय विद्यार्थी पढ्छन् । यहाँ कक्षा १ देखी ८ सम्म निःशुल्क अनिवार्य अंग्रेजी माध्यममा पढाइ हुन्छ । अंग्रेजी र नेपाली कुन माध्यममा पढ्ने हो विद्यार्थी आफैँले रोज्न पाउँछन् । यसैगरी विद्यालयमा ओभरसियर प्राविधिक शिक्षा पनि सञ्चालनमा छ । विद्यालयको सबै कक्षामा स्मार्ट बोर्डबाट पढाउने गरिएको छ । बिजुली अभावमा कहिलेकाँही सेतोपाटी प्रयोग गर्नुपर्ने बाध्यता अन्त गर्न विद्यालयले हेभी जनेटर जडान गर्ने तयारी थालेको छ ।