परिवर्तनकारी आन्दोलनमा सहभागी भइरहनेछु : प्रेस स्वतन्त्रता सेनानी शिवबहादुर कार्की

आफ्नोबारेमा बताइदिनुहोस् न समाजलाई ?

म स्व. चुम्बकबहादुर र माता स्व. भक्तकुमारी कार्कीबाट वि.सं. २००३ साल माघ २८ गते जन्मिएको हुँ। मेरो पत्नी, तीन छोरी र एक छोरा छन् । म विराटनगर २ शंकरपुरमा बस्छु । मैले २०२९ सालमा त्रिविबाट गणितमा स्नातकोत्तर (एम.एस्सी) गरेको हो । मैले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा ३२ वर्ष प्राध्यापन गरेँ । म महेन्द्र मोरङ क्याम्पस विराटनगरको पूर्वसहायक क्याम्पस प्रमुख पनि हुँ ।

म २०१८ सालदेखि वामविद्यार्थी राजनीतिमा संलग्न भएको थिएँ । म नेपाल पत्रकार महासंघ मोरङ शाखाको दुई कार्यकाल सभापति र एक कार्यकाल सम्पादक प्रकाशक संघ मोरङको अध्यक्ष पनि भएँ। २०२० सालदेखि काठमाडौंबाट प्रकाशित हुने एशियाली आवाज, युग सम्वादबाट मैले पत्रकारिता शुरु गरेको हुँ । हाल विराटनगरबाट निरन्तर प्रकाशित भैरहेको साप्ताहिक दिग्दर्शन र दर्शन दैनिकको सम्पादन गरिरहेको छु ।

तपाईंको विचारमापत्रकारिता के हो ?

पत्रकारिता भनेको सत्य, तथ्य र निष्पक्ष भएर समाचार लेख्नेकार्य हो । यो समाजप्रति इमान्दार र उत्तरदायी हुन्छ । सकारात्मक परिवर्तनलाई स्वीकार गर्छ । मानव अधिकारको सम्मान गर्छ र अन्यायको सँधै विरोध गर्छ । भ्रष्टाचारलाई सहँदैन । यसैले पत्रकारिता समाजलाई अगाडिको बाटो देखाउने ऐना हो । आवाजबिहीनहरुको आवाज हो । समाजमा जनमत सृजना गर्ने माध्यम हो ।

निरंकुशकालमा पत्रकारिता सुरु गर्नुभएको रहेछ त्यो बेलाको अवस्था कस्तो थियो ?

त्योबेला ‘म पत्रकार हुँ’ भनेर परिचय दिन सहज थिएन । किनभने पत्रकारिता स्वतन्त्र थिएन । शासन र सरकारको खिलाफमा लेख्न पाइँदैनथ्यो । चित्त नबुझे जेल हाल्थे ।

त्यस्तो गाह्रो समयमा के कुराले प्रेरित गर्‍यो पत्रकारिता क्षेत्रमाआउन तपाईंलाई ?

हो, त्योबेला मेहनत गरेअनुसार पैसा पाइँदैनथ्यो । पत्रकारिता नै गरेर जीविकोपार्जन गर्न कठिन थियो । तर पत्रकारिता नै गर्छु भनेर लागिसकेपछि पैसाको त्यति परवाह नहुने रहेछ । विशेषतः म लोकतन्त्रको पक्षपाति स्वतन्त्रतालाई रुचाउने मान्छे थिएँ । यसैले मेरो संगत पनि त्यस्तैहरुसँग हुन्थ्यो । र साथीभाइको सङ्गतले गर्दा नै म क्षेत्रमा आएको हुँ ।

अझै पनि ‘म पत्रकार हो’ भन्दा खिसी गर्नेगरिँदो रहेछ किन ?

हो,अझै पनि धेरैले ‘पत्रकार’ भन्दा खिसी गर्छन् । यसको मुख्य कारणचाहिँ पत्रकार विश्वसनीय नभएर हो । आजकाल पत्रकारहरुले पत्रकारितालाई पेशाभन्दा बढी मागीखाने भाँडोको रुपमा प्रयोग गर्न थालेका छन्। यसैले यसको मर्यादामाआँच पुगिरहेको छ । तर पत्रकारिता एउटा उत्तरदायित्वसहितको विशुद्ध सामाजिक पेशा हो । यो हामी सबैले बुझ्न आवश्यक छ । अर्कोतिर उद्योग व्यापार गरेर धेरै पैसा कमाउने र ठूला शासक-प्रशासक हुनेहरु मात्र नामी र दामी हुन् भन्ने गलत सोच हाबी भैरहेकोले पनि पत्रकारलाई होच्याउने गरिएको हो ।

पाँचदशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तरता दिइरहनुभएको छ, के पाउनुभयो के गुमाउनुभयो ?

मैले शिक्षक भएर ४७ वर्ष काम गरेँ तर मलाई सन्तुष्टि भने पत्रकारिता गर्दा नै मिल्यो । पत्रकारिताले गर्दा नै मलाई धेरै मान्छेले चिने । समाजमा मान-सम्मान पाएँ । त्योभन्दा पनि ठूलो आत्मसन्तुष्टि पाएँ । नेपाल पत्रकार महासंघले मेरो सक्रियता र निष्ठाको मूल्याङ्कन गर्दै मलाई प्रेस स्वतन्त्रता सेनानी पनि घोषणा गर्‍यो । मानव अधिकारको रक्षाका लागि निरन्तर लागेको भन्दै मलाई प्रकाश काफ्ले स्मृति मानव अधिकार पुरस्कार पनि दिइयो । मैले नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय पत्रकारिता पुरस्कार पनि पाएँ । पत्रकारिता गरेर मैले केही सम्पत्तिचाहिँ गुमाएँ ।

आजकल नेपालमा पत्रकारिताको अवस्था कस्तो छ ?

आजकल नेपाली पत्रकारिता पहिलेको भन्दा धेरै विकास भैसकेको छ । पहिले मिसनका लागि पत्रकारिता हुन्थ्यो भने आजकल व्यावसायिक पत्रकारिता सुरु भैसकेको छ । पहिले पत्रकारिता गरेर मात्रै बाँच्न कठिन थियो । तर आजकल पत्रकारिता मात्रै गरेर धेरै पत्रकार बाँच्न सफल भइरहेका छन् । पत्रकारितालाई नै कर्मठ पेशा बनाएर अघि बढ्नेहरुलाई अब जीविकोपार्जन गर्न गाह्रो पनि हुँदैन ।

मैले पत्रकारिता शुरु गर्दा पारिश्रमिक न्यून थियो र छापा माध्यम मात्र थियो । तर अहिले त्यो अवस्था छैन । मिडिया हाउसहरु धैरे छन् ।आफ्नो क्षमता र आवश्यक्ताअनुसार केही मिडिया हाउसहरुमा आवद्ध भएर पत्रकारिता गर्न पाइन्छ । मात्रआफूसँग ज्ञानसहितको सीपचाहिँ आवश्यक हुन्छ ।

अझै पत्रकारहरु पत्रकारितालाई मुख्य पेशा बनाएर टिक्न सकिरहेका छैनन् नि, कारण के होला?

कोही क्षमता नभएर मूलधारबाट बाहिरिएर पत्रकारितालाई सहायक पेशा बनाएर आफूलाई पत्रकार भनेर चिनाइरहन चाहन्छन् । कोहीचाहिँ क्षमता भएर पनि उचित पारिश्रमिक अभावमा आम्दानीका लागि अर्को सहायक पेशा गर्न बाध्य भइरहेका छन् । पहिलेभन्दा पत्रकारिता धेरै व्यावसायिक भैसकेको छ । र धेरै जनाले राम्रो कमाई गर्न थालिसकेका छन् । अब विस्तारै पत्रकारहरु पत्रकारितालाई नै मूल पेशा बनाएर आत्मनिर्भर हुन थाल्नेछन् ।

पत्रकारिता गर्दा कस्ता कस्ता कठिनाईहरुको सामना गर्नुभयो ?

मैले २०२४ सालबाट पत्रकारितामा पाइला टेकेको हो । त्योबेला अहिलेजस्तो स्वतन्त्र रुपमा समाचार लेख्न र प्रकाशित गर्न पाइँदैन थियो । समाचार लेखैकै कारणले दण्डित हुनुपर्ने अवस्था थियो । मैले पनि धेरैपटक समाचार लेखेकै कारणले शारीरिक र मानसिक सजाय भोगेको छु ।

आफ्नो संघर्षलाई स्मरण गनुपर्दा कसरी गर्नुहुन्छ ?

मैले २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता जनाएको थिएँ । २०४६ सालको जनआन्दोलनमा र २०६२/०६३ को जनआन्दोलनमा पनि निर्भिकतापूर्वक योगदान गरेँ । मैले प्रेस स्वतन्त्रता, मानवअधिकार र गणतन्त्र प्राप्तिका लागि कुनै सम्झौता गरिनँ । पत्रकार महासंघ मोरङको सभापति हुँदा मेरो नेतृत्वमा पत्रकारहरुले निर्भिकता साथ जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । म परिवर्तनकारी राजनैतिक आन्दोलन र पत्रकारिताको माध्यमबाट आम नेपाली जनताको हक, अधिकारको लागि पाँच दशकदेखि निरन्तर क्रियाशील छु । भइरहन्छु ।

प्रस्तुति :आशिका लम्साल र बबिता लिम्बू (प्रशिक्षार्थी पत्रकार कोशी अनलाइन)

Loading...