हिन्दु धर्मग्रन्थका केही जातीविरोधी सन्दर्भहरू

शान्ति गजमेर

एकल जातीय नेतृत्व सत्तामा रहिरहने र बहुसंख्यक समुदाय राज्यको पिंधमा दोस्रो दर्जाको नागरिक भइ साशित हुनुपर्ने अबस्था नेपालमा विद्यमान छ । पैतिस सय वर्षभन्दा लामो इतिहास बोकेको हिन्दु वर्ण व्यवस्थामा आधारित साँस्कृतिक र अर्थराजनीतिकव्यवस्थाका कारण नेपालको दुखलाग्दो वर्तमान सामाजिक राजनीतिकअवस्था सृजना भएको हो ।

नियोजित रूपमा हिन्दु वर्णव्यवस्थाको शुरूबाट गरिएको विभेद समाज विकासको विभिन्न कालखण्डहरू पार गर्दै अहिलेसम्म पनि शोषित पीडितदलित समुदायमाथिको छुवाछूत र विभेद कायमै छ।

इसापूर्व २०० तिर राजा मनुले मानिसहरुबीच कठोर र निन्दनीय किसिमको असमान नियमहरू लादेका थिए। जसमा दलित अर्थात शुद्रलाई कुनै तुच्छ प्राणीभन्दा निच सोचेर छुवाछूत र भेदभावपूर्ण नियम बसाले ।

नेपालको समाज विकासक्रममा प्राचीनकाल, लिच्छविकाल हुँदै मल्लकालमा राजा जयस्थिति मल्लले सन् १३६०-१३९५ मा समाजसुधारको नाममा गरेको छुवाछूत र जातीय भेदभाव रगोर्खाका राजा १६०५ – १६३६ ले वर्णव्यवस्थालाई बलियो पार्न गरेको जातीय वर्गीकरणले जात व्यवस्थालाई संस्थागत गर्‍यो ।

पृथ्वीनारायण शाहले भौगोलिक एकीकरणको नाममा सामाजिक रुपमा बिखण्डन गरे । यसैगरी १९१० को मुलुकी ऐनमा जंगबहादुर राणाले ऐन नै बनाएर तहगत संरचनामा विभाजन गरी जातीय भेदभाव र छुवाछूतलाई कडाइका साथ लागू गरे।

कानुनी रूपमा ब्राम्हण र शुद्रहरूमा फरक–फरक कामको विभाजन तथा दन्ड सजायको व्यवस्था गरे। यसरी इतिहासबाटै रुखो आदेश हुँदै समाज चल्दै आएको र मनुको वर्णव्यवस्थादेखि बिक्रम संवत् १९१० को मुलुकी ऐनमा ऐन नै बनाएर दलितमाथि राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा शोषण र अपमानपूर्ण जीवन जिउन बाध्य पारियो।

सामाजिक,राजनीतिकव्यवस्थाहरू परिवर्तन हुँदै प्रजातान्त्रिक लोकतन्त्र तथा अहिलेको लोकतान्त्रिक गणतन्त्र व्यवस्थासम्म आइपुग्दा पनि समाजमा रहेको विभिन्न सामाजिक असमानता र दलितमाथिको छुवाछूत र विभेद जस्ताको तस्तै छ।

मनुस्मृति अर्थात् हिन्दु वर्णव्यवस्थाले समाजको अर्थतन्त्र प्रशासनलाई असमान रूपमा व्याख्या गर्‍यो । तसर्थ इतिहास देखिनै बहुसंख्यक मानिसले युगौंसम्म श्रमको बलिदानी गरिनै रहे। बोल्न पाउने अधिकार निर्णय गर्न पाउने अधिकारमाथि मानवताविरोधी शासनहरू लादिए। मनुको नियमले श्रम गर्नेहरूमाथि श्रम शोषण गर्नेहरूको चरम असमानताहरूको स्थापना तथा निरन्तरता दिइयो ।

जहाँनियाहरूले निमुखाहरूमाथि लामो समय शासन चलायो। राजाहरूले जनताको श्रममा देशको अर्थतन्त्रको एकल परिचालन र शासन गर्‍यो । इतिहासदेखिनै एकल जातित्वको शासन चल्दै आयो । श्रम शोषण मात्र नभइ मान्छेमाथि क्रुर शासन गरियो ।

श्रमगर्ने वर्ग सँधै भोकै नांगै हुने र शासन गर्ने वर्ग सधैँ मालिक भयो । यस्तो प्रणालीले देशको अर्थतन्त्र तथा सामाजिक विकासमा हुने र नहुने, ठूलो र सानो उच र नीचको संस्कृतिको विकास गर्‍यो र संधै सबैकुरामा चरम असमानता रह्यो ।

श्रमको मालिक गरिब र शासकवर्ग पुंजिपति हुने व्यवस्था इतिहासबाट अहिलेसम्म पनि निरन्तर रहिरहेको अवस्था छ। श्रम कला र सीपको धनी शुद्र सधैँ अर्थबिहीन रह्यो । उसलेइतिहास नै राज्यका लागि समर्पित गर्‍यो । त्यसैले दलित समुदाय कहिल्यै राज्यको मुलप्रवाहीकरणमाआउन सकेन।

यी हिन्दु धर्म शास्त्रका केही विभेदपूर्ण सन्दर्भहरू, जुन वेद, गीता, मनुस्मृतिदेखि उपनिषद् पुराणलगायतका ग्रन्थहरूमा उल्लेख छन् ।

–किनिएको भएपनि त्यसै पाइएको भएपनि शुद्रलाई दास बनाएर राख्नू किनभने बिधाताले ब्राम्हणको दास हुनका निमित्तनै शुद्रको सृष्टि गरेका हुन् । (मनुस्मृति ८/४१३)

–शुद्रहरू अरुका कमारा हुन् र स्वेच्छाले तिनीहरूलाई राख्न र निकाल्न पाइन्छ ! (ऐतरेय ब्राम्हण)

–मालिकले त्याग गरेपनि शुद्रजाति दासताबाट छुट्न सक्दैन किनभने कमारो बन्नु नै त्यस्को स्वभाविक कर्म हो त्यो कसरी छुट्न सक्छ ? (मनुस्मृति ८/४१४)

–यदि कुनै शुद्रले लोभमा परेर उच्च जातिले अपनाएको व्यवसाय गर्छ भने सर्वस्वसहित तुरुन्तै देशनिकाला गर्नू ! (मनुस्मृति १०/९६)

–गैर आर्यहरूले आफ्ना सन्तान बेच्दा वा बन्धक राख्दा कुनै दोष हुँदैन तर आर्य मूलको मान्छे दास हुन सक्दैन ! (कौटिल्य अर्थशास्त्र)

–शुद्रलाई बुद्धि नदिनू कुनै वर्तको उपदेश पनि नदिनू । (मनुस्मृति ४/८०)

–ब्राम्हणले गर्ने जपहोम आदि काम गर्न खोज्ने शुद्रलाई राजाले मृत्युदण्ड दिनू । किनभने पानीले आगो निभाए झैं जपहोम आदि गर्ने शुद्रले सम्पूर्ण राष्ट्रलाई नष्ट गर्दछ । (आत्रीसंहिता-१९)

-शुद्रले वेद सुनेमा शिशा र लाह पगालेर उसको कानमा हालिदिनू । वेदको मन्त्र उच्चारण गरेमा जिब्रो काटीदिनू । वेदमन्त्र कण्ठस्थ गरेमा ज्यानै खतम गरिदिनू। उसले आशन, विस्तारा, बाटो आदिमा उच्च जातिसँग टाँसिन खोजेमा १०० पण दण्ड गर्नू । (गौतमशुत्र – १२)

-शुद्रलाई जुठो अन्न, पुराना कपडा, ओछ्याउनलाई पराल र ओढ्नलाई थोत्रा थाङ्ना दिनू ।(मनुस्मृति १०/१२५)

-जति सुकै धन कमाउन सक्ने भए पनि शुद्रहरूले धन संग्रह गर्नु हुँदैन । किनभने शुद्र धनी भयो भने  त्यसले ब्राम्हणलाई नै बाधा पुर्‍याउँछ ।” मनुस्मृति १०/१२९)

–शुद्रजातिले ब्राम्हण- क्षेत्री र वैश्यजातिप्रति कडा वचन बोल्छ भने त्यस्को जिब्रो काटीदिनू। किनभने जिब्रो काटिने जघन्य अपराध त्यसले गरेको हो । (मनुस्मृति ८/२७०)

–बाहुनको सेवासुश्रुषा गर्नु र दासत्वमा रहनुनै शुद्रहरुको विशिष्ट काम मानिन्छ । यदि दास र शुद्रले अरुकाम गर्न खोजे भने त्यो विफल हुनेछ । मनुस्मृति १०/१२३ )

–शुद्रजातिका लागि एउटा मात्र काम निर्धारित गरिएको छ । त्यो इर्ष्यारहित भएर मालिक वर्गको सेवा गर्नु हो । (मनुस्मृति ८-१-९१)

–शुद्र वा दासले बाहुनको कपाल समात्छ भने कुनै किसिमको छानविन वा विचारै नगरी उसका दुवै हात काटी दिनुपर्छ तथा बाहुनका दाह्री, खुट्टा, घाँटी वा अण्डकोष मात्र छुन्छ भने पनि उसका हातहरू पूरै काटीदिनुपर्छ ।”(मनुस्मृति ८/ २८१)

– बुध्दि, विवेक र योग्यताले सम्पन्न शुद्रले राज्य शासनका बारेमा कुनै पनि मूर्ख वा अविवेकी राजालाई उचित वा अनुचित सम्बन्धी कुराको विवेचना मात्र गर्छ भने त्यो पुरै राष्ट्र हिलोमा फसेको गाई झैं हुन जान्छ । ( मनुस्मृति ८/२२)

–जुन ठाउँमा दास र शुद्रहरुको संख्या धेरै छ, जहाँका मानिस तर्कशील छन्, जहाँ बाहुनहरूको खास गणना गरिँदैन अथवा बाहुनहरूका बारेमा आलोचना पनि गरिन्छ त्यस्तो ठाउँ चाँडै नै विनाश हुन्छ र त्यहाँ ठूलो बिद्रोह आदि सृजना हुन्छ । ( मनुस्मृति ८/२१)

–अन्ततः खराब आचरण भएको मानिस यदि ब्राम्हण जातिको छ भने त्यो पुजनीय हुन्छ र असल आचरण भएको मानिस यदि शुद्रजातिको छ भने त्यो निन्दनीयनै हुन्छ किनभने कसैले पनि दुष्ट वा बैगुनी गाई नदुहेर गधीलाई त अवस्य पनि दुहुँदैन । (मनुस्मृति ८/२३)

–चाहे आफैंले बनाएको धार्मिक नीतिअनुसार होस वा अर्कालाई फकाइ फुस्लाई गरेर होस् या छलप्रपन्च जाल्झेल गरेर होस् हरेक तरिकाबाट आफ्नो मतलव पूरा हुने आर्थिक साधनहरू जुटाउन पछि पर्नु हुँदैन । यदि कसैले वा तल्ला जातिका मानुसले ब्राम्हण वा क्षेत्रीयले चाहेअनुसारको सम्पत्ति दिँदैन भने त्यसलाई बाँधेर हुन्छ कि घरमा थुनेर हुन्छ कि पिट्पाट पारेर हुन्छ कि जुनसुकै बल प्रयोग गरेर हुन्छ आफूले भनेअनुसारको धन असुल उपर गर्नुपर्छ । (मनुस्मृति ८/४९/५०)

–वेद विद्या जानेको बाहुनलाई सबै जातका मानिसले आफ्नो धन, जीवन घर र सम्पूर्ण कुराहरू दिनु उचित हुन्छ । (मनुस्मृति ११/७६)

–वेद पढ्न जानेका बाहुनलाई आफूले सकेको धन दिनैपर्छ किनभने बाहुनलाई धन सम्पत्ति दियो भने स्वर्ग जान पाइन्छ । (मनुस्मृति ११/६)

लेखक, साथी फाउण्डेसन नेपालको अध्यक्ष तथा अधिकारकर्मी हुन् ।
Loading...