विराटनगरको सीएमजी स्वास्थ्य क्लब भेट्रान फुटबल प्रतियोगिताको उपाधि नजिक

विराटनगर, १३ माघ । विराटनगरको सिएमजी स्वास्थ्य क्लबले भारतमा जारी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । मंगलबार भएको सेमिफाइनल खेलमा सीएमजी भारत कलकत्ता भेट्रान क्लबलाई ट्राईबेकरमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समय गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा सीएमजीका सुमन केसी, रमेश बस्नेत, रामशरण चौधरी, बन्टी भुजेल र राम चौधरीले गोल गरेका थिए । कलकत्ताका एक खेलाडीको प्रहार बिफल भएपछि सीएमजीले फाइनलमा स्थान बनाएको हो ।

यससँगै ऊ आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि नजिक पुग्यो । यसअघि सिमजीले पहिलो खेलमा धुलिजन भेट्रान क्लबलाई २–१ गोलले हराएको थियो भने दोस्रो खेलमा भारतकै त्रिपरा भेट्रान क्लबविरुद्ध ३–१ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

अब सीएमजीले उपाधिका लागि आजै खेल्नेछ । यो खेल आज साँझ ५ बजेबाट सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा सिल्चर भेट्रान क्लब र मिजोराम भेट्रन क्लबले खेल्दैछन् । यसै खेलको विजेता टोलीसँग सीएमजीले उपाधिका लागि खेल्नेछ ।

Loading...