विराज र निकिताको नृत्यमा ‘झ्याम्मै आँखा झ्याम्मै’ (भिडियोसहित)

विराटनगर, १२ माघ । चर्चित अभिनेता विराज भट्टको अभिनय तथा निर्देशन र पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनयमा डेब्यु रहेको फिल्म ‘साङ्लो’को दोश्रो गीत सार्वजनिक भएको छ ।

२४ माघबाट प्रदर्शनमा आउन लागेको फिल्ममा समावेश गरिएको डान्सिङ नम्बरको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोल रहेको गीतलाई युटुबमार्फत सार्वजनिक गरिएको हो । निशान भट्टराईको शब्द तथा स्वर रहेको गीतमा अन्जु पन्तले साथ दिएकी छिन् भने गीतमा संगीत सुरेश अधिकारीले भरेका छन् ।

डान्सिङ नम्बरमा आधारित रहेको गीतमा विराज र निकिताको नृत्य देख्न सकिन्छ । गीतको भिडियोलाई चर्चित कोरियोग्राफर रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् । गीतको अडियो र भिडियो दुवै राम्रो रहेको र विराज र निकितालाई बोल्ड अवतारमा देखाइएको छ भने यी दुईको केमेस्ट्री सुहाएको देखिन्छ ।

किड्नी तस्करीको कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा विराज र निकिताले एक अर्काको श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनीहरू प्रेमी, प्रेमिका हुँदै श्रीमान्–श्रीमति बनेको देखाइएको छ । फिल्ममा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलागयतको कलाकारहरूको अभिनय छ ।

मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बूले संगीत भरेका छन् । फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले ठूलो अपेक्षा राखेका छन् ।

Loading...