भ्यालेन्सियासँग बार्सिलोना पराजित

एजेन्सी, १२ माघ । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना पराजित भएको छ । शनिबार राति आफ्नो २१औं खेलमा ऊ भ्यालेन्सियासँग २–० गोलले स्तब्ध भएको हो ।

भ्यालेन्सियाको मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन माक्सिीमिलियानो गोमेज गान्जालेजले २ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औं मिनेटमा गोमेजले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै खेलको ७७औं मिनेटमा गोमेजले दोस्रो गोल गर्दै भ्यालेसिन्यालाई २–० गोलले जिताए ।

त्यसअघि खेलको १२औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीको अवसर पाएको थियो । ड्यानी गोमेजले गरेको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

यस जितसँगै भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता, बार्सिलोनाको २० खेलबाट ४३ अंक छ ।

दोस्रो स्थानको रियल मड्रिडसँग पनि समान ४३ नै अंक छ । रियल मड्रिड गोलान्तरको आधारमा दोस्रो स्थानमा छ । उसले सोमबार बिहान आफ्नो २१औं खेल खेल्दैछ ।

क्वीक सेटिन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि उनले पहिलो हार ब्यहोरेका छन् । यस्तै सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ ।

Loading...