प्राकृतिक स्रोत र मानवको सम्बन्ध तोड्ने होइन जोड्ने कानून आवश्यक

विराटनगर, ११ माघ । वन वतावरण र भौतिक पूर्वाधारसम्बन्धी कानून निर्माण गर्दा दुरदर्शीता अपनाउन एक नम्बर प्रदेशका सांसदहरू सचेत भएका छन् ।

एक नम्बर प्रदेशसभाको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमार्फत १० माघमा अभिमुखिकरण पाएपछि सांसदहरू वन वातावरण र भौतिक पूर्वाधारसम्बन्धी कानून निर्माण गर्दा जैविक विविधता र मानवको सम्बन्ध तोड्न हैन जोड्नका लागि सांसदहरू सचेत बनेका हुन् ।

शुक्रबार एक नम्बर प्रदेशसभामा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले वन तथा वातावरण र भौतिक पूर्वाधार विकासका लागि सन्तुलित कानून निर्माण गराउनका लागि विज्ञहरूलाई बोलाएर सांसदहरूलाई देश–विदेशको अवस्थासहित अभिमुखिकरण गराएको थियो ।

अभिमुखिकरणमा प्रदेश सांसदका सातवटै विषयगत समितिका सभापति र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिका सदस्य, मन्त्रालयका सचिव र पत्रकारहरू सहभागी थिए । अभिमुखिकरणमा डब्लुडब्लुएफ नेपालका वरिष्ठ निर्देशक सन्तोषमणि नेपालले सहजीकरण गरेका थिए ।

एक नम्बर प्रदेशसभा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले अध्ययन नगरी र दुरदर्शीता नहेरी हतारमा भौतिक पूर्वाधार विकास र वन वातावरणबारे कानून निर्माण गर्दा प्राकृतिक मात्र नभएर जैविक विविधतासमेत संकटमा पर्ने भएकोले सर्तकता अपनाउन आवश्यक भएको बताए । उनले कानून निर्माण गरिसकेपछि सकिँन र जानिँन भन्न नपाइने भएकोले सांसदहरूमा प्रशस्त पूर्वज्ञानहरू आवश्यक हुनुपर्नेमा जोड दिए ।

सांसद उत्तम बस्नेतले प्रदेशमा कानून बनाउँदा सांसदहरूले भौतिक पूर्वाधारको विकास र वन वातावरणबारे यथेष्ट जानकारी राख्नुपर्नेबारे अभिमुखिकरणबाट जानकारी पाएको बताए । सांसद उपेन्द्र घिमिरेले अभिमुखीकरणबाट प्रदेशमा भौतिक पूर्वाधार र वन वातावरणसम्बन्धी कानून निर्माण गर्दा प्रदेश सभामा आफूहरू सर्तक भएर भाग लिन्छौं भने ।

कानून निर्माण गर्दा वन तथा वातारण र भौतिक पूर्वाधारबारे राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनहरू के कस्ता छन् ? रामसार र विश्वसम्पदा सूची भनेको के हो । देश–विदेशका सरोकारवालाहरू को–को हुन् । नेपालमा पेट्रोलियम, खनिजको अवस्था कस्तो छ, सरकारका मुख्यमार्ग चित्रहरू के–के हुन् भन्नेबारे अभिमुखीकरणमा सांसदहरूले जानकारी पाएका थिए । यस्तै संविधान र संघीय नीतिमा कस्तो व्यवस्था छ र प्रदेशमा वन तथा वातावरण र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भन्नेबारे सांसदहरू जानकार हुनुपर्ने जानकारी गराइएको थियो ।

यसैगरी प्राकृतिक स्रोत र पूर्वाधार विकासमा हिमाल, पहाड र तराईको सन्तुलन हुनेगरी कानून निर्माण गर्नुपर्ने र त्यसका लागि सकारात्मक विभेदको नीति लिनका लागि पनि सुझाइएको थियो । यस्तै प्रदेशमा वन वातावरणको संरक्षका लागि जैविक विविधताको संरक्षणका लागि भौतिक पूर्वाधार निर्माण गर्दा जंगल क्षेत्रको संरचना मैत्रीपूर्ण बनाएर वन्यजन्तुको संरक्षणमा सहयोग पु¥याइनुपर्नेबारे सांसदहरूले जानकारी पाएका थिए ।

कानून निर्माण गर्दा दीगो विकास लक्ष्यलाई ख्याल गर्नुपर्ने, सावधानी अपनाउनुपर्ने प्राकृतिक र सार्वजनिक न्याय लागू गराउनुपर्ने अधिकार र लाभको बाँडफाँडमा सर्तकता अपनाउने र प्रवराधिकारको सिद्धान्त अवलम्बन गर्नुपर्दछ ।

सहजकर्ता सन्तोषमणि नेपालका अनुसार भौतिक पूर्वाधार वन वातावरण कानूनहरू निर्माण गर्दा नबाझिनेगरी बनाउनु आवश्यक हुन्छ । बनाएका कानूनहरू मानिस र जैविक विविधताको सम्बन्ध तोड्ने हैन जोड्ने खालको हुनुपर्दछ ।

त्यसका लागि संरक्षणको संवेदनशीलता विश्लेषण गरिनुपर्दछ । जंगल क्षेत्रमा वन्य जन्तुहरूका लागि आवश्यकताअनुसार भौतिक अण्डरपास भएका भौतिक संरचनाहरू बनाउनुपर्छ । जथाभावी भौतिक संरचनाहरू निमाण गर्दा दुर्घटनामा परेर संवेदेनशील वन्यजन्तुहरू मारिने गरेका छन् । अर्कोतिर ध्वनि र वायु प्रदूषणले जनावरहरू संकटमा परेर बसाइँ सरेर जाने गर्दछन् ।

Loading...