सरकारी बेवास्तामा भर्मिकम्पोष्ट मल

शिवहाङ राई
विराटनगर, १० माघ । बजार प्रर्वद्धनमा सरकारले चासो नदिँदा विराटनगर–१४, जतुवास्थित श्रीकुष्ण गौशालाले पूर्ण क्षमता अनुसारको भर्मिकम्पोष्ट मल उत्पादन गर्न पाएको छैन् ।

सरकारी प्रोत्साहनको अभावमा सोचे अनुसार बजार नपाएपछि श्रीकृष्ण गौशालाले क्षमता भएपनि भर्मिकम्पोष्ट मल पूर्ण रुपमा व्यावसायिक उत्पादन गर्न नसकेको हो ।

गौशालाका प्रबन्धक कमलेश्री यादवका अनुसार गौशालाको क्षमता बार्षिक २ सय ५० मेट्रिक टन उत्पादन गर्न सक्ने रहेको छ । तर बजार अभावले गर्दा गौशालाले बार्षिक १ सय मेट्रिक टन मात्र मल उत्पादन गरिरहेको छ ।

रसायनिक मलकै मूल्यमा पाइने, माटोलाई आवश्यक खाद्य तत्व बढी प्रदान गर्ने र प्रयोग पछिका उत्पादित खाद्यात्रहरुले मानव स्वास्थ्यमा कुनै पनि नकारात्मक असर नपु¥याउने भए पनि सरकारी बेवास्ताले गर्दा भर्मिकम्पोष्ट मलको प्रयोगलेले अझै व्यापकता पाउन सकिरहेको छैन ।

गौशाला समितिका अध्यक्ष शंकरलाल अग्रवालका अनुसार सरकारी तथा निजी क्षेत्रहरुबाट कुनै पनि सहयोग नभएकाले गौशालाले पूर्ण क्षमतामा भर्मिकम्पोष्ट उत्पादन गर्न नसकेको हो ।

हाल गौशालाबाट उत्पादन भएको भर्मिकम्पोष्ट मल चिया बगान, नर्सरी सञ्चालक, सुन्तला खेती र छेउछाउका किसानहरुले मात्र प्रयोग गरिहेका छन् ।

मलको पोषकतत्वलाई बुझाएर अरु कृषकहरुलाई पनि प्रयोग गराउन सके मलको प्रयोग बढ्ने अध्यक्ष अग्रवाल बताउँछन् ।

गौशालाका गाईहरुबाट उत्पादन हुने गोबरलाई सङ्कलन गरेर गड्यौलाद्वारा भर्मिकम्पोष्टम उत्पादन गरिन्छ ।

अत्यधिक पोषक तत्व पाइने र माटोलाई कुनै असर नगर्ने यो मलको प्रयोगलाई पहिलो प्राथमिकता दिने हो भने विदेशबाट आयात हुने रसायनिक मलको परनिर्भरता पनि हटाउन सकिने कृषि विज्ञहरु बताउँछन् ।

गौशालाले कुनै जानकारी नगराएकाले बेखबर रहेको कृषि ज्ञान केन्द्र, सुनसरी सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंह बताउँछन् ।

सम्पर्कमा आएका अरु भर्मिकम्पोष्ट उत्पादन कम्पनीहरुसँग कृषि केन्द्रले सहकार्य गरिरहेको र उनीहरुले राम्रो व्यापार गरिरहेको उनले बताए ।

उनले भने,– ‘परिक्षण पछि उपयुक्त ठहरिएका जैविक मलहरु मात्र बजारमा बिक्री वितरणका लागि सिफारिस गरिने हुँदा गौशालाले केन्द्रसँग सहकार्य गर्न आवश्यक छ ।’

विराटनगर महानगर १४ जतुवा स्थित श्रीकृष्ण गौशालाले २०६३ देखी भर्मिकम्पोष्ट मल उत्पादन गर्दै आइरहेको छ ।

Loading...