‘दि कर्मा’ को ‘साना साना सपना’ गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, १० माघ । आगामी माघ १७ गते प्रदर्शन हुने नेपाली फिल्म ‘दि कर्मा’ को गीत सार्वजनिक भएको छ ।

फिल्ममा समावेश गरिएको ‘साना साना सपना’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

केतन क्षेत्रीको स्वर रहेको ‘साना साना सपना’ बोलको गीतमा मानसविक्रम थापाको शब्द तथा मानस र अंकितबाबु अधिकारीको संगीत रहेको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा जयराज राय र संगीता नापितलाई देख्न सकिन्छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतले दुई प्रेमी बीचको प्रेमभाव देखाउन खोजेको छ ।

फिल्ममा अभिनेत्री नीता ढुंगाना, अभिनेता करण वर्मा, अभिनेत्री परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘दि कर्मा’ मा अभिनेत्री नीता प्रहरी अफिसर र परमिता ‘लेडी डन’ को भूमिकामा रहेका छन् ।

नवनायक करण आफ्नो सुगठित शरीर देखाएर एक्सन गर्दै फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् ।

प्रचारप्रसारको सामग्रीस्वरुप फिल्मको आइटम गीत सार्वजनिक गरिएको फिल्मका निर्माता जयराज रायले बताए ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित रहेको छ भने फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा रहेर निर्माण भएको फिल्म ‘दि कर्मा’को कथा निर्माता जयराज राय आँफैंले लेखेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको संयुक्त निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शुशील पोखरेलले लेखेका हुन् ।

Loading...