सीपयुक्त शिक्षक बनौं

मधु राई

मधु राई
ठ्याक्कै दुई दशक हुन लाग्यो शिक्षणसँगै लेखन सीप तिखार्न थालेको । सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षण विधि र अतिरिक्त क्रियाकलापले शिक्षकलाई थप नयाँ कुरा सिक्न प्रेरित गर्छ भन्ने मैले मेरो दुई दशकको शिक्षणकालमा सिकेको मूलभूत कुरा हो । त्यसमाथि शिक्षासम्बन्धी लेखरचना, पत्र–पत्रिकालगायत ‘दिवा स्वप्न’, ‘तोत्तोचान’, र ‘असफल स्कूल’, ‘हामी आमाबाबु’, ‘हिँड्दा हिँड्दै’ लगायत भर्खरै प्रकाशित गिजुभाइको ‘आमाबाबुको भूमिका’ जस्ता शिक्षा र शिक्षणसम्बन्धी पुस्तकहरूले शिक्षाविद् र शिक्षकहरूलाई सोच्न बाध्य तुल्याउँछः के वर्तमान शिक्षाले सभ्य समाजलाई चाहिने जनशक्ति तयार गर्दैछ ? प्रश्न अनुत्तरित छ ।

यदि उपरोक्त प्रश्नको सही उत्तर खोज्न र सभ्य समाज निर्माण गर्न चाहन्छौं भने वर्तमान शिक्षालाई जीवनोपयोगी र समाजोपयोगी बनाउनुको अर्को विकल्प छैन । र, यसको थालनी शिक्षकबाटै हुनुपर्छ । यसका लागि सर्वप्रथम शिक्षकले आफूलाई सीपयुक्त बनाउन जरुरी छ । सीपयुक्त शिक्षक बन्न चाहने शिक्षक, पहिले नियमित पाठक हुन जरुरी छ । नियमित पत्रपत्रिका र पुस्तक पढ्ने बानीले मानिसलाई नयाँ कुरा जान्न, सिक्न र व्यवहारमा उतार्न प्रेरित गर्छ भन्ने अध्ययन अनुसन्धानले देखाएको छ ।

सभ्य समाज निर्माण गर्न परम्परागत शिक्षण विधि र पाठ्यक्रम असफल हुँदै गएको परिप्रेक्ष्यमा अबको शिक्षालाई उत्पादनमूलक र समाजोपयोगी बनाउन शिक्षकले आफूलाई कक्षाकोठाबाहिर निकाल्नुपर्छ । मैले आफूलाई सीपयुक्त शिक्षक कसरी बनाएँ र बनाउँदैछु भन्ने धेरथोर अनुभव बाँड्न यो सामाग्री तयार गरेकी हुँ ।

मैले मेरो शिक्षणकालमा शिक्षकसँगसँगै स्वतन्त्र लेखकलगायत वातावरणप्रेमी तथा समाजसेवीको परिचयसमेत बनाउने अवसर पाएँ । त्यतिमात्र हैन पछिल्लो डेढ दशकदेखि घरायसी फोहोरको वैज्ञानिक र दीगो व्यवस्थापन कसरी गर्ने भन्ने सैद्धान्तिक र व्यवहारिक ज्ञान अरुलाई समेत बाँड्दै आएकी छु । वातावरण तथा फोहर व्यवस्थापनस“ग सम्बन्धित क्रियाकलापलाई मैले मेरो शिक्षण सिकाइसँग मिसमास पार्दै लगेको धेरै भयो । यस्तै क्रियाकलाप मैले मेरा विद्यार्थीलाई सिकाउन थालेकी छु ।

दैनिकजसो कक्षाकोठाबाट निस्कने कागजलाई चार–पाँच दिन भिजाएपछि लतक्क गल्छ । त्यसलाई मुछेर पानी निथारेपछि मैदाको गमसँग पुनः मुछ्नु पर्छ । यसरी मुछेको कागजको लेदोबाट फलफूल, तरकारी, चरा र जनावरजस्ता शैक्षिक सामाग्री बनाउने सीप विद्यार्थीहरूलाई सिकाउन थालेकी छु । यस्तो क्रियाकलापले एकातिर खेर गएको कागजको वैज्ञानिक र स्थायी व्यवस्थापन हुन्छ अर्कातिर विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुन्छ । यस्तै कुहिने फोहोरबाट जैविक मल बनाइ कौसी खेती र करेसाबारीमा मौसमी तरकारी र फलफूल उत्पादन गर्दै आएको धेरै भयो । विद्यार्थीलाई सृजनशील बनाउन सकिने थुप्रै क्रियाकलापमध्ये यो फोहर व्यवस्थापनस“ग गा“सिएको सीपले उनीहरूमा वातावरण सफा राख्नुपर्छ भन्ने चेतनाको विकास पनि हुँदै जान्छ ।

यस्तै वातावरणसम्बन्धी मेरो लेखन र कामले मलाई प्रशिक्षक र सहजकर्ता बन्ने अवसरसमेत जुराउँदैछ । विशेषगरी शुक्रबार र शनिबारलगायत विद्यालयको लामो छोटो विदालाई सदुपयोग गर्दै आएकी छु । यस कार्यमा मलाई मेरा शिक्षक र अभिभावकहरूले पनि होस्टेमा हैंसे गर्दै आएका छन् । यस्तै विराटनगर उपमहानगरपालिकाले २०६७ सालमा वातावरण संरक्षणको क्षेत्रमाकाम गरेबापत कदरपत्रसहित रु ११ हजार र २०६२ सालमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले सञ्चालन गरेको एकमहिने सञ्चार अभियानमा प्रथम भएपछि कदरपत्रसहित रु १२ हजार प्रदान गरेपछि मैले मेरो जिम्मेवारी बढेको महशुस गर्दै आएकी छु । यस्तै गतवर्ष ४३औं विश्ववातावरण दिवसका दिन मैले फोहरजन्य वस्तुबाट उत्पादित हस्तकला सामग्रीको प्रदर्शनी गर्ने जिम्मेवारी पाएँ ।

यद्यपि, सिर्जनशील बन्नका लागि सर्वप्रथम शिक्षकहरूमा ‘सिक्ने भोक’ र दृढ इच्छाशक्ति हुन जरुरी छ । यसका साथै सिर्जनशील बन्न चाहने शिक्षकहरूमा समय व्यवस्थापन गर्ने कला हुन जरुरी छ । त्यसो त समयको सही व्यवस्थापन गर्दै शिक्षणसँगै समाजोपयोगी सीप सिक्ने शिक्षकहरूको फेहरिस्त लामै बन्छ । यस्ता शिक्षकहरूमा रोमन म्यागेसेसे पुरस्कार विजेता महावीर पुन अग्रपंक्तिमा पर्छन् । शिक्षणस“गै समाजोेपयोगी सीप सिकेर पुनले आफ्नो जिल्ला म्याग्दी र पर्वतका गाउँमा ताररहीत प्रविधिबाट टेलि—मेडिसिन र इको टुरिज्मका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैछन् भने उनले अहिले आफूले हासिल गरेको सीपलाई देश विकासमा लगाउन आविष्कार केन्द्र स्थापना गरेका छन् ।

विडम्बना भन्नुपर्छ बहुसंख्यक शिक्षक चाहे निजीका हुन् चाहे सामुदायिकका, विशेषगरी महिला शिक्षकहरूको समय ‘स्कूल घर र घर स्कूल’ गर्दै बित्ने गरेको छ भने पुरुष शिक्षकहरूको अधिकांश समय संघ–संगठनको कार्यमा बित्ने गरेको छ । यस्ता शिक्षकहरूले अतिरिक्त सीप सिक्ने र सिकाउने कुरा सोच्न पनि सक्दैनन् । हुनतः शिक्षण पेशा सेवामूलक भएपनि बहुसंख्यक शिक्षकहरूले अन्य पेशासरह शिक्षणलाई जागिर सम्झिने गरेकाले पनि आफूलाई सिर्जनशील बनाउन सकेका छैनन् । शिक्षणलाई जागिर सम्झने यस्ता बहुसंख्यक शिक्षकहरूले निष्क्रिय शिक्षण गरिरहेका छन् भन्दा फरक नपर्ला । यस्ता शिक्षकहरूकै कारण नेपाली शिक्षा उत्पादनमूलक बन्न सकेको छैन ।

निष्क्रिय शिक्षणकै परिणाम भन्नुपर्छ निजी विद्यालयले पलायनवादी शिक्षाको खेती गर्दैछ भने सामुदायिक विद्यालयहरू शिक्षित तथा अर्द्धशिक्षित बेरोजगार जन्माउने कारखानामा परिणत हु“दैछन् । नेपाली शिक्षालाई उत्पादनमूलक बनाउन सर्वप्रथम शिक्षकहरू सिर्जनशील बन्न जरुरी छ । त्यसो त ‘राम्रा शिक्षक जन्मदैनन् तयार गर्नुपर्छ’ भने जस्तै सिर्जनशील शिक्षक जन्मदैनन् सिर्जनशील बन्ने वातावरण तयार गर्न विद्यालय संस्थापक र प्राचार्यहरू स्वयं अग्रसर हुनुपर्छ । यसका लागि तालिम र गोष्ठीहरू मात्र पर्याप्त हुँदैन किनभने सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरू तालिमप्राप्त हुन्छन् र यस्ता तालिमहरूले उनीहरूलाई सिर्जनशील बनाउन सकेको छैन ।

शिक्षण पेशालाई सेवाभन्दा जागिर सम्झने बहुसंख्यक शिक्षकहरूले निष्क्रिय शिक्षण गरिरहेकै कारण वर्तमान शिक्षा समाजोपयोगी र उत्पादनमूलक बन्न सकेको छैन भन्दा दुईमत नहोला । वर्तमान शिक्षालाई समाजोपयोगी र उत्पादनमूलक बनाउन कोठेशिक्षक हैन सीपयुक्त शिक्षक चाहिन्छ । यसका लागि विद्यालय व्यवस्थापनले पनि शिक्षकलाई शिक्षा र शिक्षण विधिसँग गाँसिएको नयाँ–नयाँ सीप सिकाउन विभिन्न पेशागत व्यक्ति र संघ–संस्थासँग समन्वय र सहकार्य गर्ने कुरामा पहल गर्न जरुरी छ ।

Loading...