फ्राइडे रिलिज : आज हलमा ‘कमाण्डर’ र ‘स्ट्रिट डान्सर’

विराटनगर, १० माघ । फ्राइडे रिलिजअन्तर्गत आजबाट नयाँ नेपाली फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिजअन्तर्गत देशभरबाट प्रदर्शनमा आएको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो ।

फिल्मका मुख्य अभिनेता अनुपविक्रम शाही र भिलेन रोविन तामाङका साथ नवनायिका सगुन थापा, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐरलगायतका कलाकारहरूको अभिनय छ ।

एलआर विवेक सापकोटाको निर्देशन, लेखनतथा निर्माणमा तयार भएको फिल्ममा अनुप प्रहरी अफिसरको भूमिकामा छन् भने, रोविन तस्करको भूमिकामा रहेका छन् ।

फिल्ममा सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सह–निर्मातामा सावन जंग राना हुन् । ‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलिबेटी बेचबिखनलगायतका समसामयिक विषयमा केन्द्रित रहेको छ ।

फिल्मलाई दिब्य सुवेदीले छायांकन गरेका हुन् भने फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत रहेको छ ।

अनुपको ‘कमाण्डर’लाई नेपाली बक्स अफिसमा टक्कर दिँदै डान्समा आधारित रहेको बलिउड फिल्म ‘स्ट्रिट डान्सर’ प्रदर्शनमा आएको छ ।

रेमो डिसुजाले निर्देशन रहेको फिल्ममा अभिनेता वरुण धवन, अभिनेत्री श्रद्धा कपुरसँगै प्रभु देवा, अपार शक्ति खुराना, नोरा फतेही, शक्ति मोहन, राघब जुयल, पुनित पाठक तथा नेपालका सुशान्त खत्रीलगायत कलाकारको अभिनय रहेको छ ।

Loading...