आफन्तकोमा लगेर बाल विवाह गराउँछन् मरिकहरू

बबिता लिम्बू
विराटनगर, ९ माघ । कानूनले बालविवाह गैरकानूनी भनेपनि विराटनगरका मरिक समुदायमा अझै बालविवाह हट्न सकेको छैन । वर्षौं पहिले पूर्वजहरूले चलाएको सानै उमेरमा बिहे गर्ने संस्कारलाई त्याग्न नसक्दा अझै विराटनगरका मरिकहरूमा बालविवाह हट्न नसकेको हो ।

lk

कानूनले पूर्णनिषेध गरेपनि अझै विराटनगरका मरिकहरू छोरीहरुलाई आफन्तकोमा पुर्‍याएर सुटुक्क कम उमेरमै बिहे गरिदिने गर्दछन् । स्थानीय सजग युवाहरूका अनुसार विराटनगर महानगरपालिकाभित्र रहेका मरिक बस्तीका मरिक अभिभावकहरू छोरी पन्ध्र वर्ष पुग्यो भनेपछि उच्च शिक्षा नभइ विवाहको बारे चिन्तत हुने गर्छन् । उनीहरूलाई छोरीहरू पन्ध्र वर्ष नपुग्दै बिहे गरिदिने हतारो हुन्छ ।

‘कानूनले बालविवाह गर्न हुँदैन भनेको वर्षौं भइसक्यो तर आजसम्म हाम्रो समुदायबाट बालविवाह पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । यो सबै खराब संस्कार त्याग गर्न नसकेर हो’, विराटनगर–५ केशलिया मार्गस्थित मरिक बस्तीका सिकन्दर मरिक भन्छन् । उनका अनुसार सरकारले कडाई गरेपनि मरिक बस्तीका छोरीहरू वर्षौंदेखि बालविवाहको चपेटामा पर्दै आइरहेका छन् ।

पहिले पाँच, सात वर्षमै बिहे गर्न मरिकहरूको चलनमा कानून कार्यान्वयनमा आउन थालेपछि धेरै नियन्त्रण भएको छ । तर अझै १५ वर्षभन्दा बढी उनीहरू छोरीहरूलाई घरमा राख्दैन । छोरीलाई उच्च शिक्षा पढाउन चलन यो समुदायमा अझै चलकै छैन । सचेत अगुवा सिकन्दर मरिक भन्छन्, ‘छोरीहरू डाक्टर, नर्स, पाइलट, सरकारी कर्मचारी बन्छु भन्ने सपना नै देख्न पाउँदैनन्, पाँच कक्षाको पढाई पूरा गर्न नपाउँदै अरुको घर सजाउनुपर्छ उनीहरूले ।’

आफ्नो समुदायमा वर्षौंदेखि हुँदै आएको बालविवाह नियन्त्रण गर्न सिकन्दर मरिकलगायत त्यहीँ बस्तीका युवाहरू लागिपरिरेहेका छन् । उनीहरू अभिभावकले बुझाउँदा नमानेमा कानून र प्रशासनको डर पनि देखाउँछन् । तर विगतका वर्षहरूमा भन्दा बालविवाहको संख्या कम भएपनि अझै बालविवाह हट्न सकेको छैन ।

उनीहरुका अनुसार अभिभावकले कानूनबाट जोगिन मामा, काकालगायत आफन्तको घरमा लगेर छोरीहरूको बिहे गरिदिन अझै छाडेका छैनन् । अझै पनि १५ वर्षअगाडि नै छोरीहरूको बिहे गरिदिनुपर्छ नत्र देउताको सराप लाग्छ, कुलदेउता रिसाउँछन्, चलिआएको परम्परा भाँडिन्छ र समाज बिग्रन्छ भन्ने भयपूर्ण अन्धविश्वास मरिक समुदायमा कामयै छ ।

नेपालको संविधानअनुसार बालविवाह कानूनी अपराध हो । बालबालिकासम्बन्धी ऐन, २०७५ दफा ७२ (३०) (ख) मा स्पष्ट रूपमा विवाह गर्नेको उमेर २० वर्ष नपुगी कसैले बालबालिकाको विवाह तय गर्ने वा गराउनेलाई बालबालिकाविरुद्धको कसुर मानी ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सीमान्तकृत र दलित समुदायमा हुँदै आएको बालविवाह रोक्न नारी विकास संघ, वर्ल्ड भिजन इन्टरनेशनल, सिविन नेपाललगायत संस्थाहरूले ‘नेपाली जुटौं, बालविवाह रोकौं’ भन्ने मूल नारासहित काम गरिरहेका छन् । तर मरिक समुदायमा त्यसको असर आंशिक रूपमा मात्रै परेको छ ।

बाल अधिकारकर्मीहरूका अनुसार कानून अनुसार मात्र नभएर सर्वोत्तम हितको दृष्टिले पनि बालविवाह बालअधिकारको हनन हो । यस्तो विवाह गर्ने बालबालिकाहरूमा शैक्षिक, स्वास्थ्य, मानसिक, सामाजिक र पारिवारिक समस्याहरू उत्पन्न गराउँछ ।

विवाहपछि सानो उमेरमा नै गर्भवती हुँदा बालिकाहरूको यौन तथा प्रजनन् स्वास्थ्यमा नराम्रो असर पर्छ जसले गर्दा आमा र बच्चा दुवैको मृत्यु पनि हुनसक्छ । बालबिवाह गर्ने अभिभावकहरूमा शारीरिक मात्र नभएर मानसिक समस्या पनि देखापर्दछ ।

सिविन नेपालको २०१९ को रिर्पो अनुसार मोरङ जिल्लामा पछिल्लो ६ महिनाभित्र कुल १४ बालविवाह भएको छ । जसमध्ये १२ बालिका र २ बालक छन् । सिविनका अनुसार तीमध्ये १४–१५ वर्षका ६ बालिका छन् भने १६–१८ वर्षका २ बालक र ६ बालिका छन् ।

(प्रशिक्षार्थी पत्रकार)

Loading...