पुनर्संरचना सम्वन्धी पुटिनको प्रस्ताव छलफलै नगरी संसदबाट पारित

मस्को, ९ माघ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनसंसोधनसम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल नगरी पारित गरेका छन् ।

बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै प्रस्ताव निर्विरोध पारित भएको हो ।

संसदको तल्लो सदनमा रहेका कुल सांसद ४ सय ३२ जनामध्ये सबैले प्रस्तावको पक्षमा मतदान गरेको संसदमा घोषणा गरिएको थियो ।

राष्ट्रपति पुटिनले तीन दिन अगाडि मात्रै संविधान संशोधनको आफ्नो प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए ।

“यसले हाम्रो शक्तिशाली एकताको सन्देश दिएको छ,” सभामुख भयाचेस्लाभ भोलोदिनले मतदानपछि भने । बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने बताइएको छ ।

संसदमा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरु नै अत्यधिक रहेकाले आगामी मतदानबाट पनि उनको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको छ ।

राष्ट्रपति पुटिनले गत हप्ता पुनर्संरचनासम्बन्धी नयाँ प्रस्ताव तयार गरेका थिए । उनले प्रस्ताव ल्याएसँगै तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएका थिए ।

तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा नयाँ प्रधानमन्त्री र मन्त्रीहरु समेत नियुक्त भइसकेका छन् ।

राष्ट्रपति पुटिनले नयाँ प्रस्ताव गर्नुभएको नयाँ व्यवस्था अनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने भएको छ ।

Loading...