‘प्रेमगीत ३’ को सुटिङ प्याकअप, दर्शकले छिट्टै पहिलो कोशेली पाउने

विराटनगर, ९ माघ । चैत २८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ ।

छायांकन सुरु भएको ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले आफ्नो औपचारिक फेसबुकबाट जानकारी दिएका छन् ।

एक महिनादेखि मनाङको माइनल डिग्री तापक्रममा मंगलबार छायांकन सकाएपछि बुधबार फिल्मको टोली काठमाडौं आइपुगेको छ ।

छायांकन सँगसँगै सम्पादन पनि एकसाथ भइरहेको फिल्मको प्रोमोसनल गीत मात्र छायांकन गर्न बाँकी रहेको निर्माता सेनले बताए ।

उनका अनुसार फिल्मको अब कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने भएको छ ।

उनले भने, ‘अब शीघ्र रूपमा हामीले गरेको मेहनत भिडियोतर्फ गीत, टिजर, ट्रेलर क्रमशः दर्शकमाझ पस्किने छौं । पहिलो कोशेलीको काम सकिएको छ ।’

३ करोड लागतमा बनेको फिल्मका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको हो ।

हिउँ परिरहेको दृश्यहरूलाई समावेश गर्नुपर्ने भएकाले कठिनाइ भए पनि उत्साहका साथ छेतेन गुरुङ र सन्तोषले निर्देशन गरेका छन् ।

फिल्ममा डेढ सय वर्षअगाडिको कथामा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशीर राणालगायतका कलाकारहरूको अभिनय छ ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्म बक्सअफिसमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका फिल्म ‘चपली हाइछ ३’ सँग भिडन्त हुने पक्का भएको छ ।

Loading...