स्वस्थ मानिसहरूको लागि पनि अत्यन्तै महत्त्वपूर्ण फिजियोथेरापी

ढ्दो व्यस्तता, जीवनशैलीमा आएको परिर्वतन, बस्ने तथा काम गर्दा गर्ने हेलचेर्क्याइँ, अफिसमा घण्टौं कुर्सीमा बस्दा, भारी समान बोक्दा, दीर्घकालीन रोग तथा अनेक कारणले मानिसहरूमा हड्डी तथा नसाहरूमा बढ्दो समस्या देखिन थालेपछि स्वास्थ्य व्यक्तिहरूका लागि समेत फिजियोथेरापी आवश्यक भइसकेको छ ।

विराटनगर बरगाछीस्थित ओम वेलनेस हस्पिटल प्रा. लि.मा कार्यरत कन्सल्टेन्ट फिजियोथेरापिस्ट डा. मोहम्मद जावेद फिजियोथेरापीको आवश्यकताबारे कोशी अनलाइनसँग गरिएको छोटो कुराकानीमा आधारित ।

फिजियोथेरापी भनेको के हो ?

अधिकांश मानिसहरूले साधारण व्यायाम, खाटमा राखेर गर्ने मसाजलाई फिजियोथेरापी भन्ने गर्छन् तर, यो सत्य होइन । फिजियोथेरापी भनेको यति मात्र हैन, मानिसहरूले फिजियोथेरापीको विषयमा बुझेको एउटा पार्ट मात्र हो । फिजियोथेरापीलाई सामान्य रूपमा उपचार विधि मानिन्छ जसलाई भौतिक चीजहरू जस्तै तातो, चिसो, प्रकाश, पानी, ध्वनि, शारीरिक कसरत तथा विद्युतको प्रयोगले शरीरमा उत्पन्न भएका सम्पूर्ण हाड, नशा तथा माङ्शपेशीका रोगहरूको निदान तथा उपचार गरिन्छ ।

फिजियोथेरापी एउटा उपचार पद्दति हो जुन रोगको लागि मात्र नभएर रोगको रोकथामको लागि, लागिसकेको रोगको उपचारका लागि, ओछ्यानमा रहेका बिरामीहरू निको हुनका लागि, बिरामीले आफैँले व्यायाम गर्न नसक्दा गराउनका लागि आवश्यक हुन्छ । रोग लागेपछि वा अपरेसनपछि न्यूनतम स्टेटमा पुगेको बिरामीलाई निको पार्नको लागि औषधि तथा अरु सर्जिकल उपचार मात्र नभएर यीसँगै फिजियोथेरापी गर्दा रोगको उपचार छिटो र सजिलो हुने गर्छ ।

फिजियोथेरापीका प्रकारहरू पनि हुन्छन् ?

अरु उपचार पद्दतिहरू जस्तै फिजियोथेरापीमा पनि सबैमा साखा हुन्छ । हाडजोर्नीसम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नसासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोट्र्स फिजियोथेरापी, प्रसूतिसम्बन्धी गाइनाकोलोजि फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक, श्वासप्रश्वासको लागि कार्डियो रेस्पीरेटरि फिजियथेरापी तथा बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापीहरू हुन्छन् ।

कस्तो अवस्थामा फिजियोथेरापी आवश्यक हुन्छ ?

फिजियोथेरापी स्वस्थ होस् वा अस्वस्थ सबै प्रकारको मानिसहरूलाई चाहिन्छ । स्वस्थ मानिसलाई सकारात्मक स्वास्थ्य पदोन्नति, आम जनता तथा समाजको हितको प्रचार गर्न, शारीरिक गतिविधि र व्यायामको महत्त्व जोड दिनका लागि फिजियोथेरापीको आवश्यक हुन्छ । आजकल हरेक फिटनेस क्लबहरूमा शरीरलाई स्वास्थ्य तथा फिट राख्नका लागि पनि मार्गदर्शक गराएर जिम, एक्सर्साइज जस्ता फिजियोथेरापीहरू गराइन्छ ।

दैनिक काम गरेर निम्तिने समस्या जस्तै ढाड, गर्दन तथा कम्मर दुख्ने समस्याका लागि पनि फिजियोथेरापी आवश्स्यक हुन्छ । त्यस्तै, फरक क्षमता भएका व्यक्तिहरूलाई, असक्षमता, सीमित गतिविधि, सामाजिक तथा आर्थिक तनाव, वातावरणीय कारक र परिवर्तित जीवनशैलीका कारण पनि फिजियोथेरापी आवश्यक हुन्छ ।

फिजियोथेरापी उपचार प्रदान गर्न, शरीर प्रणालीको अखण्डता पुनर्स्थापित गर्न, स्वास्थ्य लाभ, असक्षमता न्यूनतम गरी जीवनको गुणस्तर वृद्धि गर्न, स्वतन्त्र बस्न र कार्यक्षमतालाई सुधार्न पनि आवश्यक हुन्छ । यति मात्र नभएर फिजियोथेरापीले परिमार्जन पर्यावरण गरी घर तथा अफिसको काम गर्न सजिलो बनाउन मद्दत गर्छ ।

फिजियोथेरापीले कस्तो कस्तो रोगलाई निको पार्न सक्छ ?

फिजियोथेरापीले दैनिक काम गरेर निम्तिने दुखाइलाई कम गराउन, मांसपेशी असन्तुलन भएमा, हातखुट्टा नचल्ने, प्यारालाइसिस भएर ओछ्यानमा परेका बिरामीहरूलाई उपचार गरेर हिँडाउन सक्ने, नसा च्यापिएमा, जोर्नी खिइएमा, हाडजोर्नी बांगो भएमा, मेरुदण्डको समस्या भएमा, विभिन्न रोगको उपचार गर्नुअघि र शल्यक्रिया गरेपछि बिरामीलाई पुनः सक्रिय बनाउन सक्छ ।

फिजियोथेरापीले बिरामीलाई उभ्याएर हिँडाउने मात्र नभएर बिरामी हिँड्न नसकेको अवस्थामा बिरामीलाई वातावरणीय अवरोध घटाउन, हटाउन तथा प्रतिष्पर्धा गर्न सिकाएर हिँड्न सहज बनाउन मद्दत गर्छ ।

दैनिक गरिने गतिविधिलाई एक्सरसाइज मान्न सकिन्छ ?

गाउँघरका बिरामीहरू जाँच गर्नका लागि आउँदा, दैनिक खेतबारीका काम गर्छौं हामीलाई पनि व्यायाम चाहिन्छ र भनेर आउनेहरू पनि धेरै छन् । तर, दैनिक गरिने कामहरूलाई अधिकांश मानिसहरूले एक्सरसाइज मान्ने गर्छन् तर, यो वास्तविकता भने होइन ।

एक्सरसाइज गर्नु भनेको आफ्नो दैनिक गर्ने काम गर्ने मापदण्डभन्दा बेसी गर्नु हो । साधारण हिँड्डुल गर्नु र हल्का काम गर्नु त हरेक को दैनिक कार्य नै हुन्छ । तर, यसबाट समय निकालेर आफ्नो शरीरमा भएको कमिकमजोरीलाई थाहा पाएर उनीहरूलाई शारीरिक गतिविधिको योजना बनाएर गरेमा मात्र त्यसलाई एक्सरसाइज भन्न सकिन्छ ।
एक्सरसाइज कति प्रकारका हुन्छन् ?

यसका प्रकारहरू त धेरै छन् तर, सामान्य तरिकाले बुझ्नु पर्दा एक्सरसाइज एक्टिभ र प्यासिभ गरी दुई प्रकारका हुन्छन् । बिरामीले आफैँ गर्न सक्ने वा गर्ने एक्सरसाइजलाई एक्टिभ भनिन्छ भने फिजियोथेरापिस्टले गराइदिने वा गर्न सहयोग गर्ने एक्सरसाइजलाई प्यासिभ एक्सरसाइज भन्ने गरिन्छ ।

प्यासिभ एक्सरसाइज ओछ्यानबाट उठ्न नसक्ने बिरामीहरू, पक्षघात भएर शरीरका अंग नचल्ने बिरामीहरूलाई गराइन्छ । एक्टिभ एक्सरसाइज बिरामीले, शारीरिक रूपले सक्रिय मानिसहरू, ढाड तथा गर्दन दुख्ने मानिसहरूलाई गर्न सिकाइन्छ । पक्षघात भएका, नसामा चोट लागेका, नसा च्यापिएका व्यक्तिहरूलाई भने ग्रेडेड (मांसपेशी तथा हड्डीको गति तथा शक्तिलाई ग्रेड दिएर न्युनतमबाट जति सक्दो माथि बढाउने) एक्सरसाइज गराइन्छ ।

के फिजियोथेरापीलाई मसाज भनेर गलत धारणा राखिएको छ ?

मसाज वा मालिस गर्ने धारणालाई पूर्ण रूपमा गलत धारणाचाहिँ भन्न मिल्दैन । किनभने मसाज फिजियोथेरापीमा पर्ने एउटा विधि पनि हो । मानिसहरूले एउटा मात्र कुरा बुझेर, वा नबुझेर यस्तो धारणा राख्नु भएको होला, तर फिजियोथेरापीभित्र मसाज मात्र नभएर अरु थुप्रै तरिकाको उपचार विधिहरू पनि छन् ।

फिजियोथेरापीले डिप्रेसनमा कत्तिको सहयोग पुर्‍याउँछ ?

फिजियोथेरापी र डिप्रेसनमा प्रत्यक्ष सम्बन्ध नभएपनि यसले अप्रत्यक्ष रूपमा डिप्रेसनलाई कम गराउन महत्त्वपूर्ण भूमिका निवारण गर्न सकिन्छ । शारीरिक गतिविधिले सिधा रूपले नभएर अप्रत्यक्ष रूपमा डिप्रेसनको बिरामीलाई एक्सरसाइजहरू गराएर, उसको मस्तिष्कलाई ब्यस्त राखेर बिरामीमा सकारात्मक भावना उत्पन्न गराएर विस्तारै डिप्रेसनबाट छुट्कारा दिलाउन सकिन्छ ।

मानसिक समस्यालाई निवारण गर्नका लागि शारीरिक गतिविधिले पनि निकै सहयोग पुर्‍याउने गर्छ । खाली बस्दा दिमागमा नचाहिने कुरा आउने हुन्छ तर, शारीरिक गतिविधिहरूमा ब्यस्त गराउने गर्दा सकारात्मक भावना उत्पन्न भइ केही हदसम्म डिप्रेसन हटाउन मद्दत पुग्छ ।

फिजियोथेरापीमा गरिने उपचारको खर्च के कस्ता छन् ?

फिजियोथेरापीको उपचार नेपाली समुदायका लागि सजिलो नै छ त्यति सारो महँगो पनि छैन । तर, अस्पतालपिच्छे फिजियोथेरापीको मूल्य अलगअलग हुने गर्छ । ठूलो महँगो अस्पतालमा जादा त्यहाँको उपचार महँगो नै हुन्छ भने सरकारी अस्पतालमा उपचार खर्च कम नै हुन्छ ।

सरकारी अस्पतालमा हेर्ने हो भने सयदेखि तीन सय रुपैयाँसम्ममा सबै सजिलो प्रकारको फिजियोथेरापीको उपचार गराइन्छ । प्राइभेट अस्पतालमा भने पाँच सयदेखि लिएर २ हजार रुपैयाँसम्म हेरी–हेरी उपचार छन् ।

आजकलको युवाहरूलाई कस्तो सुझाव दिन चाहनु हुन्छ ?

आजकलको युवाहरू पहिलाभन्दा बुझ्ने भइसकेका छन्, तर फेसबुक तथा इन्टरनेटका कारणले सक्रिय हुन र फिजिकल एक्टिभीटीबाट टाँढिदै गइरहेका छन् । डान्स गरेर होस्, खेलकुद या एक्सरसाइज गरेर शारीरिक व्यायाम गर्नु अतिनै आवश्यक हुन्छ । नयाँ पिडिहरूलाई मोबाइलबाट पर रहनु पर्ने नै मेरो सुझाव हुन्छ ।

मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसहरू असक्रिय हुनुका साथ साथै सामाजिक अन्तरक्रियाबाट समेत टाढा भइरहेका छन् । यसका साथसाथै आफ्नो बस्ने तरिकामा ध्यान दिन आवश्यक हुन्छ ।

अधिकांश मानिसहरूलाई सिधा बस्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि कुचुक्क परेर बस्ने, एकै ठाउँ लामो समयसम्म बस्ने कारणले ढाड, गर्दन तथा कम्मरमा समस्या निम्तिन सक्छ । फिजियोथेरापी भविष्यमा रोगको रोकथाम पनि गर्ने हुँदा स्वास्थ्य मानिसहरूको लागि पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।

प्रस्तुति : अंकिता ताम्राकार

Loading...