Rumpum

Rumpum Advertisement

ग्रीसमा पहिलो महिला राष्ट्रपति

ग्रीसमा पहिलो महिला राष्ट्रपति

एथेन्स, ८ माघ । ग्रीसमा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएकी छिन् ।

वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्ने भएकी हुन् ।

राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी छिन् ।

ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुले बताए ।

“ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताए । साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका छन् ।

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहनु भएको छ ।

यो पद सम्हाल्ने उनी नै पहिलो महिला हुन् ।

हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति छन् । उनको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदैछ ।

ग्रीसमा राष्ट्रपतिको चयन संसदले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्ने छिन् ।

संसदमा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ ।

मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक “असाधारण न्यायाधीश“ र मानव अधिकारको पक्षधर रहनु भएको बताए ।