कोरियामा दशककै सबैभन्दा कम आर्थिक वृद्धि

सियोल, ८ माघ । दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त बनेको छ ।

अमेरिका तथा चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको कोरियाको केन्द्रीय बैंकले बुधबार जनाएको छ ।

विश्वकै १२ औं ठूलो अर्थतन्त्र रहेको कोरियामा सन् २०१९ मा २.० प्रतिशतले आर्थिक वृद्धि भएको छ । यो अघिल्लो वर्ष २.७ प्रतिशतभन्दा कम हो ।

सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटपछि यो सबैभन्दा खराब अवस्था हो ।

खस्कदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती बनेको छ । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो ।

पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न सङ्घर्ष गर्नु परेको छ भने असमानताका कारण निराशा चुलिँदै गएको छ ।

राष्ट्रपति मून जाए–इनले सार्वजनिक खर्च बढाउने र “आय–उन्मुख बृद्धि” को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुन थालेको छ ।

यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

विपक्षीहरूले सरकारी नीतिहरुले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन् ।

कोरियाको केन्द्रीय “बैंक अफ कोरिया”ले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ ।

Loading...