चीनमा ९ जनाको मृत्यु, अमेरिका पनि पुग्यो कोरोना भाइरस

चीन, ८ माघ । चीनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसले चीनमा ज्यान जानेको संख्या ९ पुगेको छ भने भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४ सय ४० पुगेको छ ।

स्वरुप परिवर्तन गरेर फैलन सक्ने लक्षण भएको भाइरस मान्छेबाट मान्छेमा सर्ने हुनाले चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सजक रहन चेतावनीसमेत दिएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अमेरिका पुगेको बीबीसीले जनाएको छ ।

अमेरिकाको वासिङट्न राज्यमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोना भाइरसबाट संक्रमित एक जना अस्पताल भर्ना भएका छन् । ३० वर्षजतिका ती पुरूष केही दिनअघि चीनको वुहान बसेर फर्किएका थिए । सिटल सहरस्थित अस्पतालमा भर्ना भएका उनको अहिले उपचार जारी छ ।

अमेरिकाको द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार केही दिनअघि चीनको वुहान बसेर फर्किएका ३० वर्ष जतिका पुरूष सिटल सहरस्थित अस्पतालमा भर्ना भएका उनको अहिले उपचार जारी छ ।

कोरोनाभाइरसले संक्रमित व्यक्तिलाई ज्वरो आउने, खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने, मिर्गौलाले काम गर्न छोड्ने र मृत्युसमेत हुन सक्छ ।

कोरोन भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट मान्छेमा सरेको थियो । अहिले त्यो बजार बन्द गरिएको छ।

Loading...