भुँडी लागेका मानिसहरूलाई हृदयघातको जोखिम

विराटनगर, ८ माघ । हेर्दा दुब्लो पातलो देखिए पनि भुँडी लागेका मानिसहरूलाई हृदयघातको जोखिम हुने पाइएको छ ।

मुटुरोग निवारणसम्बन्धी युरोपेली जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख गरिएअनुसार भुँडी लागेको मान्छेलाई हृदयघातको जोखिम अरूभन्दा बढी हुने पाइएको हो ।

एकचोटि हृदयघात भइसकेपछि पेटको बोसो नघटाएमा दोस्रो पटक पनि हृदयघात हुने सम्भावना थप बढ्छ ।

स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटका डाक्टर हाने मोहम्मदीले पेटमा लाग्ने बोसोले हृदयघातको जोखिम बढाउनुका साथै, एकचोटि हृदयघात भइसकेपछि पनि भुँडी नघटाएको खण्डमा फेरि हृदयघात हुने जोखिम झनै बढ्ने बताइन् ।

एकचोटि हृदयघात भइसकेको मान्छेले भविष्यमा बच्नका लागि भुँडी सामान्य आकारमा ल्याउनुपर्ने उनले बताइन् ।

विश्व स्वास्थ्य संगठनले पुरुषमा ९४ सेमी र महिलामा ८० सेमीभन्दा ठूलो कम्मर भए हृदयघातलगायत अन्य मुटुसम्बन्धी रोगको जोखिम बढी हुने जनाएको छ ।

पुरुषको कम्मर १०२ सेमी र महिलाको ८८ सेमीभन्दा बढी भए यो जोखिम दुई गुणा बढ्ने गर्छ ।

पहिलो हृदयघातपछि नियमित औषधिको सेवन गर्नुका साथै सुगर, कोलेस्ट्रोल सामान्य राखी तौल बढ्न नदिए पनि भुँडी नघटेको खण्डमा हृदयघातको जोखिमबाट मुक्त भइँदैन ।

हृदयघातबाट बच्न चाहनेहरूले तौल नाप्नेभन्दा पनि कम्मर नाप्ने गर्नुपर्छ ।

स्वीडेनमा गरिएको अध्ययनमा पहिलो पटक हृदयघात भइसकेका २२ हजारभन्दा बढी बिरामीको ४ वर्षसम्म नियमित स्वास्थ्य जाँच गरियो जस मध्ये ७८ प्रतिशत पुरुष र ९० प्रतिशत महिलाको भुँडी ठूलो थियो ।

उनीहरूको कम्मरको नाप र मुटुको रक्तनलीमा आउने अवरोधबीचको सम्बन्धलाई हेर्ने क्रममा १ हजार २ सय ३२ जना पुरुष र ४ सय ६९ जना महिलालाई दोहो¥याएर हृदयघात भयो ।

अध्ययनले धूम्रपान, मधुमेह, तनाव, शरीरको उचाइ र तौलको अनुपात (बिएमआई) सँगसँगै भुँडीमा लाग्ने बोसो पनि हृदयघातको निम्ति बराबर जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।

अनुसन्धाताहरूले हृदयघातको जोखिम पत्ता लगाउन बिरामीको कम्मरको नाप लिनू भनी डाक्टरहरूलाई सुझाएका छन् ।

Loading...