पत्रपत्रिकामा देश : ग्यास हिटरले निसास्सिएर एकै कोठामा सुतेका दुई परिवारका आठ भारतीयको मृत्यु

विराटनगर, ८ माघ । मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा सुतेकै अवस्थामा आठ भारतीयको मृत्यु भएको छ ।

भारतको केरलाबाट घुम्न आएका १५ जनाको समूहमध्ये एउटै कोठामा सुतेका ८ जनाको मृत्यु भएको हो ।

कोठाको सबै झ्याल ढोका बन्द गरेर ग्यास हिटर बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले धेरै जना एकै कोठामा सुतेको र झ्याल थुनेर हिटर चलाएको कारण मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको बताए ।

मृत्यु हुनेमा प्रविणकृष्ण नायर, उनकी पत्नी सरजया, दुई छोरी र एक छोरा छन् । ३९ वर्षीय रञ्जित कुमार, उनकी पत्नी र एक छोरा रहेका छन् ।

उनीहरु सोमबार राति एभरेष्ट पानोरमा होटमा सुतेका थिए ।

मंगलबार बिहान आठ बजेसम्म कोठा नखोलेपछि अर्काे कोठामा रहेका साथीहरुले ढोका खोल्दा उनीहरु अर्धचेत अवस्था भेटिएका थिए ।

उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।

अस्पतालले हिजो मध्यान्न उनीहरुलाई मृत घोषणा गरेको हो । यो समाचारलाई अन्नपूर्ण पोष्टले ब्युँझिएनन् आठै जना शिर्षकमा मुख्य बनाएर छापेको छ ।

नयाँ पत्रिका दैनिकमा ‘उखु किसानको जम्मा १६ करोड भुक्तान, एक अर्ब बाँकी’ शिर्षकमा मुख्य खबर छापेको छ ।

किसानको बक्यौता तिर्न उखु किसानलाई सरकारले दिएको समयसीमा मंगलबार सकिएको छ ।

तर किसानले अझै एक अर्ब रुपैयाँ पाउन बाँकी रहेको छ ।

किसानले सरकारसँग लिखित सहमति गर्दै आन्दोलन स्थगित गरेका किसानले ठगिएको महसुस गर्दै फेरी आन्दोलन गर्ने तयारी गरेका छन् ।

सरकारले दिएको म्याद सकिदाँ समेत केही चिनी उद्योगी सरकारको सम्पर्कमै आएनन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका सदस्य राकेश मिश्रले आन्दोलनको लागि काठमाडौं जाने तयारी भइरहेको बताए ।

यो समाचारलाई अन्नपूर्ण पोष्टले पनि जिल्लाइए किसान शिर्षकमा मुख्यपृष्ठमा छापेको छ ।

Loading...