नेपाललाई आईसीपी हस्तान्तरण सँगै उद्घाटन (फोटो फिचर)

रंगेली, ७ माघ । नेपाल–भारतको सीमा बुधननगर जोगबनीमा भारततर्फको निर्माण भएको तीन वर्षपछि नेपाल तर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) नेपाललाई हस्तान्तरण गरिएको छ ।

भिडियो कन्फरेन्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा डिजिटल स्वीच थिचेर आईसीपीको उद्घाटन गरेका हुन् । भिडियो कन्फरेन्सबाट भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई आईसीपीको हस्तान्तरण गरेका थिए । यसको सञ्चालन जिम्मेवारी भन्सार विभागले पाएको छ ।

२ अर्ब १० करोड रुपैयाँ लागतमा भारतले यो जाँचचौकी निर्माण गरिदिएको हो । जाँचचौकी निर्माण गर्न नेपालले भारतसँग सन् २००६ मै सम्झौता गरेको थियो । तर सन् २०१६ देखि मात्र भारतले जाँचचौकी निर्माण थालेको थियो । निर्माण थालेको झण्डै तीन वर्षपछि भारतले नेपाललाई आईसीपी हस्तान्तरण गरेको हो ।

नेपाल सरकारले वि.स. २०७३ मंसिर २९ गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि चौकी निर्माण सुरु भएको हो । विराटनगरको जाँचचौकी १६९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

जाँचचौकी सञ्चालनमा आएपछि भारत र तेस्रो मुलुकको आयात निर्यात सहज, सरल र व्यवस्थित हुनेछ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि वस्तुको लागत मूल्य कम हुने भएकाले उपभोक्तासमेत लाभान्वित हुने छन् ।

बुधनगरमा निर्माण भएको जाँचचौकीको क्षमता पाँच सय मालबाहक ट्रक आउ–जाउ गर्न सक्ने हो । त्यहाँ चौबीसै घण्टा विद्युत, रेफ्रिजिरेटर सुबिधासहितको गोदाम घर र सिसी टिभीको सुरक्षा निगरानी छ । सुरक्षाकर्मी बस्ने ठाँउ र स्वास्थ्य चौकीजस्ता सुविधा रहेका छन् । पावर ‘ब्याकअप’ त्यसैगरी फोहोर पानी प्रशोधन गर्न प्लान्ट राखिएको छ ।

जाँचचौकीमा मालबाहक सवारी पुगेको आधा घण्टामा जाँचपासको सबै प्रक्रिया पूरा हुन्छ । अहिले विराटनगर भन्सारमा बढीमा दुई दिनसम्म लाग्ने गर्छ । नयाँमा पर्खनु परे तीनदेखि चार घन्टाको बसाई हुने अधिकारीहरुको दाबी छ । अब रेल्वेबाट आएका सामान पनि आईसीपी भएर नेपाल भित्रिने छन् ।

दुवैतर्फ भएको भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सीसीटीभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सब स्टेशन, वे ब्रिजलगायत सुविधा उपलब्ध छन् ।

‘आईसीपीले सम्बन्ध प्रगाढ बनायो’

दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो राजधानिबाट स्वीच थिचेर आईसीपीको उद्घाटन गरिरहँदा कार्यालय स्थल बुधनगरमा पनि कार्यक्रम भइरहेको थियो । आईसीपीको मुख्या कार्यालय भएको स्थानमा नेपालका उद्योग राज्यमन्त्री मोति दुगडको तथा भारतीय पदाधिकारीको उपस्थितिमा मंगलबार कार्यक्रम भएको हो ।

कार्यक्रममा राज्यमन्त्री दुगडले जाँच चौकीको निर्माणले नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए । उनले अयातका सबै काम एकै स्थानबाट हुने भए पछि उद्योगी व्यवसायी उत्साहित भएको बताए । उनले यो कामले नेपाल र भारत एक भएको महसुस भएको जिकिर गरे । उनले हिन्दीमा आफ्नो मन्तव्य राखेका थिए ।

नेपालीस्थित भारतीय दूतावासका प्रथम अर्थसचिव प्रभजितसिंह गुलाठीले जाँच चौकीको निर्माणले भारत नेपालसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन चाहेको देखाएको बताए । उनले चौकीमा व्यापारका लागि आवश्यक सबै विषयवस्तु रहको जिकिर गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले यसको पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र फाइदा उठाउन सकिने बताए । उनले जाँच चौकीको पूर्ण र प्रभावकारी सञ्चालनको लागि सबै निकायका बीचमा सम्वन्य हुन आवश्यक रहेको जिकिर गरे ।

कार्यक्रममा सांसद शिवकुकार मण्डल, इन्डियन कस्टम पटनाका कमीस्नर रञ्जित कुमार, राईट्स इन्डियाका जनरल म्यानेजर तथा इन्जिनियर बीएस सेरावतले, मोरङ व्यपार संघका अध्यक्ष प्रकाश मुन्दडालगायतले बोलेका थिए ।

Loading...