अग्युएरोलाई अनुबन्धित गर्न बार्सिलोनासामु मेस्सीको माग

एजेन्सी, ७ माघ । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीका सहकर्मी सर्जियो अग्युएरोलाई ल्याउन क्लबसँग माग गरेका छन् ।

स्पेनिस मिडियाका अनुसार ३२ वर्षीय मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड अग्युएरोलाई अनुबन्धित गर्नका लागि प्रक्रिया थाल्न बार्सिलोनासामु माग गरेका हुन् ।

केही समयअघि मात्र मेस्सीले बार्सिलोनलाई अग्युएरो ल्याउन सुझाव दिएका थिए ।

तर, अब भने उनले क्लबको फरवार्ड लाइन अझ सशक्त बनाउन अग्युएरोको आवश्यकता परेको बताएको ‘मुन्डो डिपोर्टिभो’को दाबी छ ।

बार्सिलोनाले स्ट्राइकर लुइस स्वोरजको विकल्प खोजिरहेका बेला मेस्सीले यस्तो माग गरेका हुन् ।

यद्यपि, बार्सिलोनाका नवनियुक्त प्रशिक्षक क्वीक सेटिनले यसअघि नै मेस्सीको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

केही हप्ताअघि बार्सिलोनाका प्रशिक्षक बनेका उनले मेस्सीले राखेको उक्त प्रस्ताव इन्कार गरेको खबरमा उल्लेख छ ।

मेस्सीले केही समयअघि राष्ट्रिय टोलीका सहकर्मी लाउटारो मार्टिनेज क्लबमा ल्याउन बार्सिलोनालाई सुझाव दिएका थिए । तर, इन्टर मिलानका मार्टिनेजले आफू क्लबमै रहने बताएका थिए ।

Loading...