शहर केन्द्रित हुँदै गाइनेहरू

माधव काफ्ले

कता गयौ गीत गाउने गाइने दाइ
दुःख पीर विरहमा चाहिने दाइ

कुनै बेला दुःख, पीडा र रोदनका गीत गाउँदै हिँड्ने गाइने दाइ हिजोआज जहाँतहीँ भेट्न मुस्किल पर्छ । पहिले पहिले गोरखपुर, कोलकत्ता र बम्बई कोठीमा बेचिएका नेपाली चेलिहरूको कथा, कतै सासूले बुहारीलाई मारेको तथा भाइले दाइलाई मारेको कथा एवं फुक्लान टापुमा लड्दा लड्दै वीरगति प्राप्त गरेका गोरखाली सेनाको वीरताको गाथा सुनाउन समाचारका संवाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने दाइ सारङ्गी दाइ पछिल्लो समय जहीँतहीँ भेटिँन छोडेका हुन् ।

लस्के, चाँचरी, मालाश्री, असारेलगायत भाकाहरूमार्फत् देश तथा प्रदेशका घटनालाई सुनाउँदै गाइनेहरू आजकल गाउँघरमा भेटिँदैनन् । एक समय थियो । न रेडियोको पहुँ थियो, न त टेलिभिजन नै । त्यतिबेला कतै घटना, दुर्घटना भए त्यसलाई बयान गरेर गाइने दाइहरू सारङ्गी बजाएर गाउगाउँ गीत गाउँथे ।

हिजोआज गाइनेहरू गाउँघरमा भन्दा पनि शहर केन्द्रित छन् । शहरका चोकमा र बस, माइक्रोमा सारङ्गी बजाउँदै गरेका गाइने दाइलाई गाउँघरमा कमै मात्रामा भेट्न सकिन्छ । आफ्ना बाबुबाजेले बजाउँदै आएको सारङ्गी बोकेर आफ्नो र आफ्नो परिवारको जीविको पार्जन गर्दै गाइनेहरू काठमाडौंका बसमा, सडक पेटीमा र गल्लीहरूमा भेटिने गर्छन् ।

मुग्लानमा लाहुरे दाइले ब्यहोरेका दुःख कष्टलाई विभिन्न गाउँमा पुगेर गीतमार्फत् नै बयान गर्थे । बाटो हिँड्दै गरेको गन्धर्वलाई घर–घरमा बोलाएर गीत गाउन लगाइन्थ्यो । मन खोलेर गन्धर्वलाई दान, दक्षिणा र सिदा दिइन्थ्यो । तर, अहिले आधुनिकताका नाममा यो पेशा लोप हुन थालेको छ ।

समुदायका युवाले नअपनाउँदा पनि सारङ्गी बजाउने पेशा लोप हुन थालेको हो । कुनै जमाना गन्धर्व जातिका व्यक्तिलाई ‘गाइने दाइ’ भनेर नै चिनिन्थ्यो । अहिले समय फेरिएको छ । उनीहरू आफैंलाई गाइने भन्न मन पराउँदैनन् । युवा पुस्ता अहिले यो पेशा अंगाल्न खोज्दैनन् ।

न अहिले गन्धर्वहरू सारङ्गी भिरेर गाउँ–गाउँमा पुग्छन् त न युद्धगाथा, कर्खा र घटनाबारे नै वर्णन गर्छन् । उसैपनि पछिल्लो समय आधुनिक प्रविधिहरूको विकासले गर्दा गाउँगाउँ पुगेर खबर पुर्‍याउने गाइने दाइको पेशा अहिले विस्तापित नै भइसकेको छ ।

अर्कोतर्फ घर–घरमा गएर गीत सुनाउने गाइनेलाई सम्मान नभएर हेयको नजरले हेर्ने गरिन्छ । उनीहरूलाई सम्मान दिइँदैन । माग्ने जस्तो व्यवहार गरिन्छ ।

भोजपुर घर भइ हाल झापाको पथरीशनिश्चरेमा अस्थायी बसोबास गर्दै आएका शिव गन्धर्व पहिलेका बुढापाखाले केही रूपमा राम्रो व्यवहार गर्ने भए पनि नयाँ पुस्ताले आफूहरूलाई हेय गर्ने गरेको बताउँछन् । सारङ्गी बनाएर बेच्ने गरेका शिव पनि युवा पुस्ताले यो पेशा अंगाल्न नखोज्दा सारङ्गी बजाउने पेशा लोप हुँदै गइरहेको बताउँछन् ।

नौ वर्षको उमेरदेखि नै सारङ्गी रेट्दै आएका शिवले गाइनेहरू शहर केन्द्रित भएको स्वीकार्छन् । ‘गाउँमा बुडापाकाले सुन्छन् । तर, युवापुस्ताहरू माग्ने जस्तो व्यवहार गर्छन्,’ उनी भन्छन्, ‘तर, शहरमा कोही–कोहीले अत्याधिक माया गर्छन् । चामल नभएर पैसा दिन्छन् । हामी बटुवालाई त पैसा नै ठीक हुन्छ । किनकी हामीले भारी बोकेर नौ डाँडा हिँड्न सम्भव हुँदैन ।’

पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समितिका संस्थापक अध्यक्षसमेत रहेका शिव सारङ्गी बजाउने मात्र नभएर सारङ्गी बनाउने काम पनि गर्छन् । सारङ्गीको इतिहासलाई कायमै राख्नका लागि उनी गाउँका स–सना बालबालिकालाई राखेर सिकाउने काम पनि गर्छन् । ‘म एक सारङ्गी शिक्षक पनि हुँ । मलाई लोप हुँदै गइरहेको सारङ्गी बाजालाई विश्वमाझ चिनाउन अझ सशक्त भएर लाग्न मन छ ।’

सारङ्गी बजाउने पेशालाई समाजमा सम्मान नहुँदा सारङ्गी बजाउनको संख्यामा घट्दै गएको शिव सुनाउँछन् । ‘पहिले पहिले सारङ्गी बजाउनेलाई सम्मान हुन्थ्यो । तर अहिले हियाउँछन्, त्यसैले पनि घर–घरमा गएर सारङ्गी बजाउने पेशा लोप हुँदै गएको छ ।’

पहिले आफ्नो परिश्रमअनुसार दक्षिणा दिने गर्ने भए पनि अहिले त्यो संस्कारको अन्त्य भएको पथरीशनिश्चरे बस्ने तारा गन्धर्वको भनाइ छ । सारङ्गी बजाउनेबित्तिकै समाजले हेर्ने दृष्टिकोण फरक हुने उनी बताउँछन् । सारङ्गी बजाउनेलाई समाजमा गाइने भनेर हेप्ने प्रवृत्ति भएकाले आफूले सारङ्गी बजाउने पेशा नगरेको ताराले बताए ।

गन्धर्व समुदायका युवानै सारङ्गी बजाउने पेशाप्रति आकर्षित नहुँदा पेशा नै लोप हुने अवस्थामा छ । गन्धर्व समुदायको परम्परागत पेशा नै सङ्कटमा पर्न थालेको छ । नेपाली संस्कृतिको महत्त्व र वीरताको गाथा बोेकेको सारङ्गी बाजालाई संरक्षण गर्न आवश्यक रहेको भए पनि राज्यले पनि संरक्षणमा ध्यान नदिएको ताराको भनाइ छ ।

गन्धर्व जातिको सारङ्गी बजाउने पेशा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने र सारङ्गी सङ्ग्रहालय निर्माण गर्नुपर्ने बादक तारा बताउँछन् ।

एक नम्बर प्रदेशको झापा, मोरङ र पहाडी विभिन्न जिल्लाहरूमा बस्दै आएका गन्धर्व समुदायलाई सरकारले समृद्धिको गीत सुनाउन सात वटै प्रदेशमा गाइनेहरूलाई परिचान गर्ने योजना बनाएको छ । तर, अझै पनि गाइने समुदायको उन्नती प्रगतिका लागि ठोस योजना भने ल्याएको छैन ।

Loading...