बेपत्ताहरु मरिसके : श्रीलङ्काली राष्ट्रपति

कोलोम्बो, ७ माघ । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपक्षेले गृहयुद्धमा बेपत्ता भएका २० हजार बढी मानिसको मृत्यु भइसकेको बयान दिएका छन् ।

उनले पहिलो पटक बेपत्ताहरु मारिएको स्वीकार गरेका हुन् ।

राष्ट्रिपति राजपक्षेले राजधानी कोलम्बोमा संयुकत राष्ट्र सङ्घका एक अधिकारीसँगको भेटमा यस्तो स्वीकार गरे ।

राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा बेपत्ता भएका मानिसहरुको मृत्यु प्रमाणपत्र जारी गरिने उल्लेख छ ।

श्रीलङ्कामा बेपत्ताका परिवारहरुले भने आफन्त जिवितै रहेको विश्वास गरिरहेका छन् ।

सुरक्षाकर्मीले पक्राउ गरिएकाहरुलाई भने अझै नियन्त्रणमा राखेको हुन सक्ने उनीहरुको बुझाइ थियो ।

उनीहरुले बेला बेलामा र्‍याली निकल्दै बेपत्ताहरुको विषयमा पत्ता लगाउन माग गर्दै आएका थिए ।

श्रीलङ्काली सेनाले २६ वर्षसम्म चलेको रक्तपातपूर्ण सङ्घर्षपछि सन् २००९ मा विद्रोही तमिल टाइगर्सलाई पराजित गरेको थियो ।

विद्रोहमा हजारौँ व्यक्ति बेपत्ता भएका हुन् । बहुसङ्ख्यक बौद्ध सिंहली–बहुल सरकारविरुद्ध तमिल विद्रोहीले युद्ध छेडेका थिए ।

सिंहाली समुदायले अल्पसंख्य तमिललाई हेपेको र समानता नदिएको भन्दै उनीहरु छुट्टै राज्यको माग गर्दै विद्रोहमा निस्किएका थिए ।

युद्धमा झण्डै एक लाख मानिस मारिएको अनुमान गरिएको छ । जसमध्ये धेरै तमिल समुदायका थिए ।

राष्ट्रपति राजपक्षे गृहयुद्धको समयमा रक्षा सचिव थिए र उनले विद्रोहीहरुलाई सफाया गर्न भूमिका निभाएका थिए ।

युद्ध समाप्त भएपछि संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काली सुरक्षा बलमाथि अत्याचारको आरोप लगाएको थियो ।

Loading...