३२० करोड भारू लगानीमा निर्माण हुँदै ‘८३’

विराटनगर, ६ माघ । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ छायांकन भइरहेको छ ।

बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको र दीपिकाले कपिलको श्रीमतीको भूमिकामा देखिने भएकी छिन् ।

निर्माता कम्पनी रिलायन्स इन्टरटेनमेन्टको लगानीमा फिल्म ‘८३’को छायांकन भइरहेको छ । फिल्मको लागत ३ सय २० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म निर्माणमा करिब २ सय ५० करोड खर्च भएको र फिल्मको प्रचारका लागि करिब ७० करोड खर्च हुने कम्पनीले जनाएको छ ।

सन् १९८३ मा भारतले विश्वकप जितेको कथालाई समेटेर रणवीर र दीपिकासँग एमी विर्क, ताहिर राज भसिन, साकिब सलीम, साहिल खट्टर, चिराग पाटिल, हार्डी सन्धूलगायतका कलाकारहरुको अभिनय रहने छ ।

कबीर खानले निर्देशन गर्न लागेको यो फिल्म २०२० अप्रिल १० तारिखमा रिलिज हुने भएको छ ।

रणवीर र दिपिकाले यसअघि ‘गोलियो की रासलीला : रामलीला’, ‘पद्मावत’ र ‘बाजीराव मस्तानी’ मा एकसाथ काम गरिसकेका छन् ।

रिलायन्स इन्टरटेनमेन्ट ब्यानरबाट यहीँ वर्ष ठूला बजेटका दुई फिल्म आउने भएका छन् ।

मार्चमा रिलिज हुने ‘सूर्यवंशी’ र अप्रिलमा ‘८३’ को कुल बजेट करिब ७ सय करोड रूपैयाँ हुनेछ ।

Loading...