आँखाको स्वास्थ्यका लागि २०, २०, २० व्यायाम

पछिल्लो समय खासगरी बालबालिकाहरूले चस्मा लगाउनुपर्ने समस्या बढिरहेको छ । मोबाइल, ल्यापटप तथा टिभीको अत्यधिक प्रयोगले ढाड तथा गर्दनमा मात्र नभइ आँखामा सुख्खापन हुने समस्या उत्पन्न गराउछ ।

गेम खेल्ने बच्चाहरूमा टाढा नदेखिने मायोपिया हुने गरेको र युवायुवतीहरूलाई आँखा सुख्खा हुने समस्या देखा पर्न थाल्छ ।

कुनै पनि ग्याजेटमा लामो समयसम्म एकटक हेरिरहने गर्दा आँखाको परेला जतिपटक झिम्किनुपर्ने हो त्यति नझिम्किँदैन र आँखाका मांसपेसी थाक्ने र सुख्खापन देखापर्ने गर्छ ।

दिनमा दुई घण्टाभन्दा बढी कम्प्युटरमा काम गर्नेहरूलाई कम्प्युटर भिजन सिन्ड्रोम हुने गरेको चिकित्सकहरू बताउँदै आएका छन् । लगातार स्क्रीन हेर्ने मानिसहरूमा आँखा सुख्खा हुने, पोल्ने, बिझाउने, आँखा रातो हुने, आँसु आउने र हेर्नै असहज हुने गर्छ ।

टाढा नदेख्ने समस्या भइसकेको व्यक्तिहरूलाई चस्मा नलगाई स्क्रीन हेर्दा आँखालाई थप दबाव पर्न जान्छ ।

त्यसैले, स्क्रिन धेरै नहेर्नुका साथै समयमै समस्या देखा परे आँखाको उपचार गर्न आवश्यक हुन्छ । यदि हेर्नै परे स्क्रीन छ भने स्क्रिनको उज्यालोलाई बाहिरी वातावरणको उज्यालो भन्दा धेरै बढाउने गर्नु हुँदैन ।

काम गर्दा आँखाको परेला पर्याप्त मात्रामा झिमझिम गर्नुका साथै (२०, २०, २० व्यायाम) प्रत्येक २० मिनेटमा २० फीट टाढा २० सेकेन्डका लागि हेर्ने बानी बसाउनु पर्छ ।

आँखा सुख्खा हुने वा बिझाउने भए ‘एन्टी रिफ्लेक्टिभ कोट’ भएको चस्मा लगाउने र आँखालाई सुख्खा हुन नदिने डाक्टरको सल्लाह अनुसार आइड्रपहरूको प्रयोग गर्नु पर्छ ।

चस्मा लगाउने व्यक्तिले नियमित रूपमा चस्माको पावर ठिक छ वा छैन भनेर जाँच गराईरहनु पर्छ । आँखालाई चाहिने आरामका लागि प्रसस्त मात्रामा निन्द्रा पुर्याउनुको साथै खानपानमा पनि विशेस ध्यान दिनु पर्छ ।

आँखाबाट माथि हुने गरी स्क्रीन नराख्ने तथा बालबालिकालाई मोबाइल वा कम्प्युटर प्रयोग गर्न कम गर्नुपर्छ ।

Loading...