सत्य निरुपण भट्ट र बेपत्ता आयोगमा सुवेदीकाे नाम सिफारिस

काठमाडौं, ४ माघ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ ।

शनिबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएकामा सत्य निरुपणको अध्यक्षमा डा गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी छन् ।

पदाधिकारी विहीन भएको नौ महिनापछि समितिले नाम सिफारिस गरेको हो । समितिका सदस्य शर्मिला कार्कीले समितिको २४ औँ बैठकबाट दुवै आयोगका पाँच÷पाँच जना पदाधिकारीको नाम सिफारिस गरिएको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।

कानून मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइएको छ ।

सरकारले गत चैत्र ११ गते ती दुवै आयोगका पदाधिकारीको नाम सिफारिस गर्नका लागि मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगका पदाधिकारीको नाम सिफारिस समितिले गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त गर्ने सहमति भएको थियो ।रासस

Loading...