एमएम कप : आर्मीलाई दाेस्राे पटक उपाधि

पुलिस दाेस्राे पटक उपबिजेता

इनरुवा, ४ माघ । मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले लगातार दोश्रो पटक उपाधि जितेको हो ।

गत सिजनमा पनि पुलिसलाई नै पराजित गर्दै आर्मीले उपाधि जितेको थियो ।

इनरुवा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मीले लगातार उपाधि जितेको हो । आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको पुलिस २४.४ ओभरमा ९९ रनमा समेटिएको थियो ।

पुलिसलाई सस्तैमा समेट्न आर्मीका खेलाडी सुशन भारि एक्लैले ४ विकेट लिए । ६ ओभर बलिङ गर्दा भारीले २४ रन मात्र खर्चिए । स्पिनर शाहब आलमले पनि ३ विकेट लिएका थिए । कुशल मल्लले २ र बिक्रम सोबले १ विकेट लिए ।

पुलिसको लागि कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३, अनिल साहले २१ रन जोडे । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

टस हारेर ब्याटिंग गरेको आर्मीले ४८.५ ओभरमा १ सय ८४ रन बनाएको थियो । आर्मीको ब्याटिंगमा कप्तान बिनोद भण्डारीले ४० रन जोडे । राजेश पुलामीले ३१ , राजु रिजालले २२ , बिक्रम सोबले १५ र कुशल मल्लले १३ रन जोडे ।

पुलिसका लागि ललित राजबंशी र सागर ढकाल दिपेन्द्र ऐरीले समान ३ विकेट लिए ।

उपाधिसंगै आर्मीले ४ लाख ५ हजार रुपैयाँ हात पारेको छ । उप विजेता पुलिसले २ लाख ५ हजार रुपैयाँमा प्राप्त गर्याे ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी आर्मीका सुशन भारि चुनिए । उनले ५५ हजार रुपैयाँ हात पारे । भारिले ४ खेलमा कुल १५ विकेट लिए ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले आयोजना गरेको प्रतियोगितामा सात वटा प्रदेश, तीन विभागीयसहित १२ टोली सहभागि थिए ।

Loading...