Rumpum

Rumpum Advertisement

झापामै अलैँचीको व्यावसायिक खेती

झापामै अलैँचीको व्यावसायिक खेती

झापा, ४ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी बगानभित्र अलैँची समेत लगाएर आम्दामी गरिरहेका छन् ।

रहरले करेसाबारीमा लगाएको अलैँची सप्रिएर फल्न थालेपछि उनले अहिले सुपारी बगानभित्र ५ सय अलैँचीका बिरुवा रोपेका छन् ।

बिरुवामध्ये २०० बोटले फल दिन सुरु गरेको छ ।

उनले काका रामप्रसादसँग मिलेर पहाडबाट ल्याएको अलैँचीको विरुवा रोपेका थिए ।

उप्रेतीले आफ्नो एक बिघा आठ कट्ठा जमिनमा वार्षिक ५ लाख बराबरको अलैँचीसहितका बाली उत्पादन गरिरहेका छन् ।

केही जमिनमा सुपारी बगानभित्रै मौसमअनुसारको तरकारी खेती, दलहन र तेलहन खेतीसमेत गर्दै आएका छन् ।

सुपारी बगानभित्रको धेरै क्षेत्रफलमा अलैँची लगाएका उनको मुख्य आयस्रोत भनेको सुपारी र अलैँची हो ।

खासगरी पहाडी भेगको खोल्सामा मात्र सीमित रहेको अलैँची झापामै व्यावसायिक खेती हुन थालेपछि जयपुर क्षेत्रका कृषकले मनग्य आम्दानी गर्न थालेका छन् ।

झापामा कति अलैँची उत्पादन हुन्छ त्यसको यकिन तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छैन तर पनि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिकाका कृषकले भने पछिल्लो समय अलैँची खेती गरिरहेका छन् ।

गाउँपालिकाका २० बढी कृषकले व्यावसायिक रुपमा अलैँचीको खेती थालेका छन् ।

समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटर उचाइसम्म सेपिलो भूभागमा हुने अलैँचीखेती झापामा व्यावसायिक रुपमा हुँदै आएको छ ।

पहाडमा ‘खोल्साको कालो सुन’ उपनामले चिनिने अलैँचीको खेती झापामा हुन थालेपछि जयपुर क्षेत्रका कृषकले यो खेती विस्तार गरिरहेका छन् ।

गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका किसानले व्यावसायिक रुपमा ‘पाखे’ जातको अलैँचीखेती गर्दै आएका छन् ।

उनीहरुले सुक्खा जमिनमा उत्पादन हुने इलामको सलकपुरमा उत्पादन गरिएको ‘पाखे’ जातको अलैँची रोपेका हुन् ।

परम्परागत रुपमा धान, मकै, गहुँखेतीबाट सोचेजस्तो आम्दानी हुन नसकेपछि यहाँका किसान बैकल्पिक व्यावसायिक खेतीका रुपमा सुपारी खेती गर्दै आएका छन् ।

सुपारी रोपेको स्थानमा अलैँची लगाउँदा राम्रो उत्पादन हुन थालेपछि किसान उत्साहित भएका छन् ।

तीन वर्षमा २० जनाभन्दा बढीले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थालेपछि अरु किसानले यसमा चासो राखेको भोटेटारकी राधा बजगाईंले बताइन् ।

जयपुरमा मनमाया उप्रेतीले दुई कट्ठामा अलैँची रोपेकी छिन् ।