काव्यारोहणमा आज बम देवान

विराटनगर, ४ माघ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा काव्यारोहणमा आज धरानका वरिष्ठ कवि बम देवान प्रस्तुत हुने भएका छन् ।

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कार्यक्रमअन्तर्गत माघको शृंखलामा आरोहणले देवानलाई प्रस्तुत गर्न लागेको हो ।

आज हुने शृंखलामा देवानले एक दर्जन आफ्ना सशक्त कविता प्रस्तुत गर्नेछन् ।
देवानले साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिएका छन् ।

पञ्चायतकालमा दर्शन राईको नामबाट साहित्य सिर्जना गरेका उनी राजनीति र साहित्यलाई सँगै हिँडाउने वामविचारकका रुपमा परिचित छन् ।

२००३ साल मंसिरमा संखुवासभाको आँखीभुइँमा जन्मिएका देवानको साहित्य लेखन २०२१ सालदेखि सुरु भएको थियो ।

देवानको हाम्रो गीत, हाम्रो आवाज (२०२९) र आगाको खेती कवितासंग्रह प्रकाशित छन् । कविताबाहेक गीत र कथा लेखनमा सक्रिय देवान ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको चर्चित गीतका रचनाकारसमेत हुनु ।

उनी वि.सं. २०४३ देखि २०४७६ सालसम्म धरान नगर पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए ।

गुरुकुलले हरेक महिनाको पहिलो शनिबार ख्यातिप्राप्त नेपाली कविहरूको कवितावाचनको शृंखला काव्यारोहण आरोहण कवितायात्रा सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक धीरज राईले जानकारी दिए ।

गुरुकुलले यसअघिको शृंखलामा वरिष्ठ कवि बैरागी काइँला र तुलसी दिवसलाई उभ्याइसकेको छ ।

Loading...