इरानको आक्रमणमा ११ अमेरिकी सैनिक घाइते

इराक, ३ माघ । अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको हमलामा ११ जना घाइते भएको अमेरिकाले स्वीकार गरेको छ ।

इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।

गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो ।

यसअघि भने अमेरिकाले कसैलाई केही नभएको जिकिर गर्दै आएको थियो ।

अमेरिकी सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा इरानले अल असद सैनिक शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको स्पष्ट पारेको छ ।

अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले जारी गरेको विज्ञप्तिमा घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख गरिएको छ ।

इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदला स्वरुप इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो ।

अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको थियो ।

इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् ।

Loading...