सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु

अमेरिका, ३ माघ । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ । बिहीबार दिउँसो प्रधानन्यायाधीश र माथिल्लो सदनका सदस्यहरूले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन् ।

प्रधानन्यायाधिश जोहन रोबर्टसले सुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराएका थिए । माथिल्लो सदनका कुल १०० सदस्यहरूमध्ये ९९ जनालाई उनले सपथग्रहण गराएका हुन् । सपथग्रहण गर्ने सबैले सपथग्रहणका क्रममा “पक्षपातरहित न्याय” गर्ने कसम खाएको समाचारमा जनाइएको छ ।

उनीहरूले महाअभियोग प्रस्ताव माथी स्वविवेकले आफ्नो मत जाहेर गर्ने बताएका थिए । महाअभियोग प्रस्तावमाथि माथिल्लो सदनमा आगामी मङ्गलबारदेखि प्रधानन्यायाधीश रोबर्टसको अध्यक्षतामा सुनुवाई हुनेछ । सुनुवाईका क्रममा दुवै पक्षले आ–आफ्नो पक्षमा तर्क र प्रमाणहरू पेस गर्दै आफ्नो पक्ष सही भएको दाबी गर्ने भएका छन् ।

हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेकाले बिहीबारदेखि माथिल्लो सदनमा प्रक्रिया सुरु भएको हो । माथिल्लो सदनमा ट्रम्पविरुद्धका आरोपहरू पढेर सुनाइएको थियो । आरोपपत्रमा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्गन गरेको, शक्तिको दुरुपयोग गरेको, कङग्रेसको प्रक्रियामा अवरोध पु¥याएको लगायतका आरोपहरू उल्लेख गरिएको छ ।

आरोपपत्रमा उल्लेखित सवै आरोपको राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्दै खण्डन गर्दै आएका छन् । सिनेटबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने प्रावधान रहेको छ । माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको संख्या धेरै रहेकाले पार्टीको लाईनअनुसार मतदान भएमा महाअभियोगको पक्षमा दुई तिहाइ पुग्ने संभावना कम देखिएको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले भने रिपब्लिकन सिनेटरहरूलाई राष्ट्रपतिका ’अन्धसमर्थक’ नबन्न र स्वविवेक प्रयोग गर्न आह्वान गरेकी छन् । उनले महाअभियोगसम्वन्धी कागजपत्रले राष्ट्रपति ट्रम्पले गलत काम गरेको पुष्टि भएको दाबी गर्दै उनलाई गलत कामप्रति जवाफदेही बनाउन महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिइन् ।

उनले भविष्यमा पनि कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न नसक्ने गराउनका लागि पनि अहिले महाअभियोग लगाउनु पर्ने तर्क गरिन् । तर ट्रम्पका समर्थक तथा रिपब्लिकन सांसदहरूले भने महाभियोग प्रक्रियालाई ‘पक्षपातपूर्ण आक्रोशबाट प्रेरित कदम’ को संज्ञा दिँदै आएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् । रासस

Loading...