वैदेशिक रोजगारीको अनुमतिले व्यापारको चहलपहल

शिवहाङ राई

विराटनगर, ३ माघ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारका लागि अनुमति प्रदान गर्न थालेपछि स्थानीय व्यापारमा चहलपल बढेको छ ।

shram karyalaya biratnagar

वैदेशिक रोजगारमा गएर फर्केका तर फेरि जान चाहनेहरू अनुमति लिनका लागि एक नम्बर प्रदेशभरिबाट विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा आउने भएकोले स्थानीय व्यापारमा चहलपहल बढेको हो ।

पहिले विराटनगरको भट्टाचौकमा रहेको श्रमतथा रोजगार कार्यालयले हाल विराटनगर–३ स्थित हिलिङ्ग मार्गबाट सेवा प्रदान गर्न थालेको छ ।

मानिसहरूको अत्यधिक चहलपहल हुने उक्त कार्यालय सरेसँगै यहाँ व्यापार गर्नेहरू पनि बढ्न थालेका छन् ।

यहाँ धमाधम होटल, पसल, अनलाइन फारम भर्ने केन्द्रहरू खोलिन थालेका छन् ।

श्रम तथा रोजगार कार्यालयले आफ्नो छेउमा आएकाले घरमा नै व्यवसाय सुरु गर्न लागेको स्थानीय रामबहादुर थापा बताउँछन् ।

घरको एउटा कोठामा आफैँले पसल खोलेर र बाँकी रहेका कोठाहरू उनले भाडामा लगाएका छन् ।

ghar nirman

यहाँ होटल र विभिन्न पसल खोल्नका लागि व्यावसायीहरू घर खोज्न भौतारिरहेका हुन्छन् ।

कार्यालयमा दैनिक सयौँ मानिसहरूको चहलपहल हुने भएकोले वरपरका स्थानीय र अन्य स्थानबाट आएकाहरू व्यवसाय सुरु गर्न खाली जग्गाहरूमा धमाधम भौतिक संरचना बनाउँदै छन् ।

स्थानीय हरि दाहाल श्रम कार्यालय स्थायी रूपमा नरहने भएकाले आफ्नो जग्गामा अस्थायी संरचना बनाइरहेका छन् ।

श्रम कार्यालय सरेर हिलिङ्ग मार्गमा आएपछि रोड छेउका खाली जग्गाहरूमा पनि मानिसहरूले घर तथा व्यवसायीक प्रायोजनका लागि भवनहरू बनाउन थालेका छन् ।

पहिले सुनसान हुने यो टोल आजकल कोलाहलपूर्ण हुने गरेको छ ।

कार्यालय छेउछाउ चटपटे, पानीपुरी, कागजी सामग्रीहरू बिक्री गर्नेहरू पनि बग्रल्ति हुने गरेका छन् ।

श्रम कार्यालय सरेसँगै अनलाइन व्यवसायीहरू पनि कार्यालयवरिपरि पुगिसकेका छन् ।

कोही आफैँ अस्थायी संरचना निर्माण गरेर त कोही खाली जमिनमा छाता राखेर पनि व्यवसाय गरिरहेका छन् ।

कार्यालयको ठ्याक्कै अगाडि रहेको खाली जग्गामा अनलाइन व्यवसायीहरू आफैं मिलेर भवन निर्माण गर्न थालेको र निर्माणपश्चात त्यहीबाट सेवा प्रदान गर्ने व्यवसायी सुदीप लम्साल बताउँछन् ।

पहिले मजदूर कर्मचारीको श्रम समस्या मात्रै हेर्दे आएको विराटनगरस्थित श्रम कार्यालयले २३ माघ २०७६ देखि प्रारम्भिक चरणको श्रम स्वीकृति प्रदान गर्न थालेको हो ।

(प्रशिक्षार्थी पत्रकार)
Loading...