चिन्ताले कलेजो खराब बनाउँछ

विराटनगर, ३ माघ । धेरै चिन्ता तथा तनाव लिने मानिसलाई कलोजोमा समस्या हुने पाइएको छ । बेलायतको एडिनवर्ग विश्वविद्यालयको मस्तिष्क विज्ञान केन्द्रले गरेको अध्ययनका अनुसार धेरै तनाव र चिन्ताले कलेजोमा गम्भीर रोग निम्तिन सक्ने पत्ता लागेको हो ।

१ लाख ६५ हजार जनामा गरिएको अध्ययनमा मस्तिष्क र शरीरबीच महत्वपूर्ण सम्बन्ध भएको प्रमाण भेटिएको र मानसिक तनावले शरीरमा खतरनाक प्रभाव पार्ने निष्कर्ष निकालेको छ । अध्ययनमा संलग्न भएका मानिसहरू माथि मानसिक तनावको अध्ययन गर्नुका साथै उनीहरूको पछिल्लो एक दशकसम्मको स्वास्थ्य अनुगमन पनि जारी राखिएको थियो ।

तोकिएको समयसम्म मरेका सहभागीहरूको मृत्युको कारण पनि जाँच गरिएको थियो । अध्ययनमा बढी मानसिक तनावको लक्षण देखिएका व्यक्तिहरू कलेजोको रोगका कारण मृत्यु भएको देखिएको हो । ति व्यक्तिहरूमा चुरोट तथा रक्सीको सेवन, मोटोपना, मधुमेह, सामाजिक आर्थिक स्थितिजस्ता कारणबारे पनि अध्ययन गरिएको थियो ।

मोटोपना र उक्त रक्तचाप मुटुमा हुने समस्याहरू पनि कलेजोसम्बन्धी रोगको सामान्य रूप हो । यी समस्यालाई ‘ननअल्कोहलिक फैटी लिभर डिजिज’को रूपमा लिइन्छ । अनुसन्धानले चिन्ता भएका व्यक्तिहरूलाई अप्रत्यक्ष रूपले कलेजोको रोगले मृत्यु हुने सम्भावना बढी रहेको देखाएको छ । निरन्तर तनावमा रहनेहरूको स्मरणशक्ति कमजोर हुनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत हानी गर्छ । हालसम्म मानसिक रोग र कलेजोको रोगबीच जैविक सम्बन्धबारे पत्ता लगाउन भने सकिएको छैन ।

Loading...