वाह ! हाटखोलाको स्मार्ट शौचालय

बबिता लिम्बू
विराटनगर, ३ माघ । शहरका सार्वजनिक शौचालय भन्नेबित्तिकै डुङडुङती गन्हाउने, फोहोर र दुर्घन्धले नाक थुन्नुपर्ने, शौचगर्दा सास फेर्नसमेत गाह्रो पर्ने दृश्य सम्झना आउँछ । तर विराटनगर महानगरमा एउटा यस्तो शौचालय छ, जहाँ सँगै चिया–खाजा खाने होटल, पेयपर्दाथ र किराना पसल पनि सञ्चालन भइरहेका छन् ।

सधैँ चिटिक्क सरसफाइ हुने, दुर्गन्धको नामै नभएकोले विराटनगर महानगरपालिका–८ हाटखोलास्थित सार्वजनिक शौचालय विराटनगरमा स्मार्ट शौचालयको नमुना बनेको छ । मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना र बुद्धमिलन वाचनालयको सहयोगमा तीन वर्ष अघिदेखी यो शौचालय सञ्चालनमा आएको हो । २८ लाख लागतमा निर्माण भएको यो शौचालय अपाङ्गमैत्री पनि छ ।

वाचनालयका अध्यक्ष उज्वल प्रसाईंका अनुसार विराटनगर महानगरपालिकाले २५ वर्षको लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि हाटखोला चौकमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिएको हो । चिया खाजा, किराना र पेय पसलसँगै रहेको शौचालयको सरसफाइ अनिल मरिक र उनकी पत्नी ममताले गर्दै आएका छन् ।

शौचालयलाई चिटिक्क राखेर उदाहरणीय कार्य गरेको भन्दै एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उनीहरूलाई सम्मानित पनि गरिसकेका छन् । नियुक्त हुनासाथ शौचालयको अनुगमन गरेर आफ्नो बिजनेश सुरु गरेका मन्त्री घिमिरे हाटखोलाको सफासुग्घर शौचालय देखेर मख्ख परेका थिए ।

अपाङ्गता भएकाहरूलाई निःशुल्क सेवा प्रदान गरिँदै आएको यो शौचालयमा सपाङ्गले भने सःशुल्क सेवा लिनुपर्दछ । सफाइ कर्मचारीलाई तलब, शौचालय सरसफाइ र सम्पूर्ण व्यवस्थापनको खर्च सेवाग्राहीबाट उठाइने रकमबाट धानिँदै आएको छ ।

विराटनगर महानगरमा भएका प्रायः सबै सार्वजनिक शौचालयहरू फोहोर छन् । विद्यालय, अस्पताल, सरकारी कार्यालयका शौचालयहरू पनि आम सर्वसाधारणका लागि स्वच्छ र वतावरणमैत्री छैनन् ।

विद्यालयमा शिक्षक, कार्यालयमा कर्मचारी र अस्पतालमा चिकित्सकहरूको शौचालय अलग्गै सफा भएपनि विद्यार्थी, सर्वसाधारण बिरामी र सेवाग्राहीले उपभोग गर्ने शौचालयहरू हेरिनसक्नुको अवस्थामा हुन्छन् ।

सफा गर्न खासै खर्च नलाग्ने, मात्र चासो भए पुग्ने भएपनि सार्वजनिक शौचालयको सरसफाइमा चासो दिने गरिएको पाइँदैन । वडा नं ८ का वडा अध्यक्ष निश्चल अर्याल हाटखोलको स्मार्ट शौचालय चाहेमा सबै स्थानका सार्वजनिक शौचालयहरू सरसफाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्न सकेकोमा खुशी व्यक्त गर्छन् ।

उनी भन्छन्, ‘सबैले हाटखोलाबाट सार्वजनिक शौचालय व्यवस्थापन गर्न सिकुन् । महानगरका सबै शौचालयहरू यस्तै अपाङ्गमैत्री, व्यवस्थित र सफा हुन जरुरी छ ।’

(प्रशिक्षार्थी पत्रकार)
Loading...