काव्यारोहणमा बम देवानले कविता सुनाउने

विराटनगर, ३ माघ । आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा काव्यारोहण शृंखलामा धरानका वरिष्ठ कवि बम देवान प्रस्तुत हुने भएका छन् ।

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कार्यक्रमअन्तर्गत माघको शृंखलामा आरोहणले देवानलाई प्रस्तुत गर्न लागेको हो ।

माघ ४ गते हुने शृंखलामा देवानले एक दर्जन कविता प्रस्तुत गर्नेछन् ।

देवानले साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिएका छन् ।

पञ्चायतकालमा दर्शन राईको नामबाट साहित्य सिर्जना गरेका उनी राजनीति र साहित्यलाई सँगै हिंडाउने वामविचारकका रुपमा परिचित छन् ।

प्रकृति र मानिसलाई उचालेर वर्गीय धरातलमा उभिएर लेख्ने गर्दछन् देवान ।

हाम्रो गीत, हाम्रो आवाज (२०२९) र आगाको खेती कवितासंग्रह प्रकाशित छन् ।

कविताबाहेक गीत र कथा लेखनमा सक्रिय देवान चर्चित गीतका रचनाकारसमेत हुन् ।

उनी वि.सं. २०४३ देखि २०४६ सालसम्म धरान नगर पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए ।

महिनाको पहिलो शनिबार ख्यातिप्राप्त कविहरूको कवितावाचनको शृंखला काव्यारोहण आरोहण कवितायात्रा सञ्चालनमा ल्याइएको कार्यक्रम संयोजक धीरज राईले जानकारी दिए ।

यसअघिको गुरुकुलले शृंखलामा वरिष्ठ कवि बैरागी काइँला र तुलसी दिवसले काव्यारोहणमा कविता सुनाएका थिए ।

Loading...