पत्रपत्रिकामा प्रदेश : गलत स्टिमेट देखाएर सडक निर्माण

विराटनगर, ३ माघ । उपभोक्ता समितिमार्फत विराटनगर १४ स्थित जतुवमा ग्राभेल गरिने सडक निर्माण गर्न गलत स्टिमेट देखाएको स्थानीयले आरोप लगाएका छन् ।

जतुवाको सरस्वती चोकदेखि उत्तरपूर्वमा ७ सय मिटर सडक ग्राभेल गर्न स्टिमेट गलत बनाएको स्थानीयको आरोप छ ।

विराटनगर महानगरपालिकाको २४ लाख रुपैयाँ र स्थानीयको २० प्रतिशत लगानी गरी ३० लाख रुपैयाँमा निर्माण भइरहेको सडकको उपभोक्ता समिति अध्यक्ष सुशिलकुमार यादव छन् ।

फागुन मसान्तसम्म काम सक्ने गरी सडक निर्माणको काम हुँदै आएको छ ।

विराटनगर १४ वडा कार्यालयका सब इन्जिनियर भोला शर्मासहि उपभोक्ता समितिका अध्यक्ष यादवले स्टिमेट गलत बनाएको स्थानीयले बताए ।

पक्कि नाला निर्माण गर्न १ मिटरको खाल्डो र ५ मिटरको चौडाई स्टिमेटमा देखाइएको छ । तर वास्तविक खाल्डो भने ६ इन्च भन्दा माथि नरहेको स्थानीयले बताए ।

तर ३३ इन्च माटो पुर्न स्टिमेटमा ९ लाख ११ हजार रुपैयाँ छुट्याइएको छ ।

यस्तै साइड क्लियर गर्ने भन्दै बजेट छुट्याइएपनि सो सडकमा रुख र टहराहरु नभएको स्थानीयले बताएको ब्लाष्ट टाइम्समा मुख्य खबरमा यो समाचार छापिएको छ ।

कम्प्युटर बिनै कम्प्युटर शिक्षा

झापाका अधिकांश विद्यालयमा कम्प्युटर विषय राखिएपनि शिक्षक छैनन् ।

प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटर नै नभएको खबर कान्तिपुर दैनिकमा कम्प्युटर बिनै कम्प्युटर शिक्षा शिर्षकमा खबर छ ।

मावितहमा कम्प्युटरको पढाइ ठिकठिकै भएपनि प्राथमिक र आधारभूत तहमा दयनीय अवस्था रहेको छ ।

सय पूर्णाकको विषय भएपनि विषय शिक्षक नै बिना पठनपाठन हुँदै आएको छ ।

विषयगत शिक्षकको दरबन्दी नै नभएको र लेखा कर्मचारी मार्फत कम्प्युटर शिक्षा दिइरहेको भद्रपुरको सगरमाथा माविका प्रअ भक्त भट्टराईले बताए ।

कांग्रेसले जनप्रतिनिधिसँग सुझाव लिने

प्रदेश १ को नामाकरणको लागि कांग्रेसले जनप्रतिनिधिसँग सुझाव लिने समाचार उद्घोष दैनिकले छापेको छ ।

कांग्रेसले नामाकरणको लागि जनमत तयार गर्न लागेको हो ।

बिहीबार संसदीय दलको कार्यालयमा बसेको उपलब्ध प्रदेश सांसदहरुको बैठकले कांग्रेसबाट जितेका प्रमुख र उपप्रमुखहरुलाई सुझावको लागि बैठक बोलाउने निर्णय गरेको छ ।

८ माघमा विराटनगरमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखको भेला राखिएको संसदीय दलका नेता राजीव कोइरालाले बताए ।

Loading...