दक्षिण अफ्रिकामा चार करोड ५० लाख जनालाई खाद्य सहयोग आवश्यक

राष्ट्रसंघ, २ माघ । दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण गरिबीमा रहेका करिब ४ करोड ५० लाख जनालाई खाद्यान्न सहयोग आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

भोकमरीको सङ्कट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको छ । यो दर अझै बढ्दो अवस्थामा रहेको विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक लोला क्यास्ट्रोले बताए ।

खाद्यान्न अभावका कारण महङ्गो खाद्यान्नको जोहो गर्नुपर्दा देखिएको गरिबीका कारण बालबालिकाले विद्यालयको शुल्क तिर्न नसक्दा विद्यालयबाट बाहिरिएका छन् ।

यस्तै आधा पेट खाने वा खाना नै नखाने अवस्था धेरै अफ्रिकी नागरिकको दैनिकी रहेको पनि क्यास्ट्रोले बताए ।

अफ्रिकालाई खाद्यान्न व्यवस्थापनका लागि सन् २०२० मा करिब ४ करोड ८९ लाख अमेरिकी डलर आवश्यक पर्ने राष्ट्रसंघले जनाएको छ ।

तर विश्व खाद्य कार्यक्रमसँग यसको आधा पनि बजेट नभएकोले क्यास्ट्रोले बताए ।

दक्षिण अफ्रिकामा विश्वका अन्य मुलुकको तुलनामा तापक्रम दोब्बर बढेको छ ।

अफ्रिकाका जनताले विगत ३५ वर्ष यता सबैभन्दा खराब खाद्यान्न सङ्कटको सामना गर्नुपरेको राष्ट्रसंघले जनाएको छ ।

Loading...