मन्त्रालयबाटै शुद्धीकरण अभियान चलाउने मन्त्री ढकाल भनाइ

पोखरा २, माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउने बताएका छन् ।

उनले शुद्धीकरणको लागि मन्त्रालयबाटै सुरु गर्नु पर्ने मान्यताका साथ आफू अघि बढेको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले पहिले मन्त्रालयको बेथितिलाई हटाउने बताए ।

मुहान सङ्गलो बनाउँदा तलको धमिलो हट्दै जाने भन्दै उनले पहिले मन्त्रालय नै सुधार गर्ने बताएका हुन् ।

आर्थिक अनियमितता र भ्रष्टाचारको कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताललगायत अस्पताल थला पर्ने हुन कि भन्ने चिन्ता रहेको उनको भनाइ छ ।

वीर अस्पतालमा ४६ करोड लागतमा किनिएका दुई वटा मेसिन लामो समयदेखि जनताको सेवामा उपयोगमा आउन नसकेको भन्दै रोष प्रकट गरे । उनले त्यसमा अनियमितता रहेको उल्लेख गरे ।

स्वास्थ्य क्षेत्र अन्यको तुलनामा ठूलो क्षेत्र भएकाले सुधारको अनुभूतिका लागि समय लागेपनि परिणाम आउने गरी सुधार गरेरै छाड्ने उनको प्रतिबद्धता छ ।

उनले आफ्नो नेतृत्वमा अनुभुति हुने गरी मन्त्रालयलाई सुधार गर्ने बताए ।

उनले चिकित्सकले दुई वर्ष पहाडी तथा हिमाली जिल्लामा गएर सेवा गर्नुको विकल्प नभएको बताउँदै त्यसका कुनै सम्झौता नहुने स्पष्ट पारे ।

पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

उनले लगातार तीन दिनभन्दा बढी बहिरङ्ग विभागको सेवा बन्द हुन नहुनेमा जोड दिए ।

Loading...